‘एक्लो’को फर्स्टलुक भिडियोमा योद्धा प्रदीप

काठमाडौं । वैज्ञानिक कल्पनालाई विषयवस्तु बनाउँदै निर्माण गरिएको चलचित्र ‘एक्लो’ को फर्स्टलुक भिडियो सार्वजनिक गरिएको छ ।
आइतबार सार्वजनिक गरिएको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरूको लुक्स एकसाथ प्रस्तुत गरिएको छ ।
प्रदीप शाहीको निर्देशनमा बनेको साइफाइ चलचित्र ‘एक्लो’ ले यसअघि विश्वविख्यात कान्स फिल्म फेस्टिभलमा स्टलमार्फत अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति जनाइसकेको थियो ।
निर्देशक शाहीले यसअघि दुईवटा चलचित्र निर्देशन गरिसकेका छन् । निर्देशक शाहीले ‘एक्लो’ लाई हलिउडस्तरको प्रविधि र प्रस्तुति दिनेतर्फ विशेष ध्यान दिइरहेका छन् । चलचित्रको हाल पोस्ट-प्रोडक्सन कार्य लण्डनमा भइरहेको छ भने यो सिनेमालाई पुष १० गते क्रिसमसको अवसर पारेर प्रदर्शन गर्ने तयारी निर्माण टिमले जनाएको छ ।
चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, साथै बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहको अभिनय रहेको छ । यस्तै, चलचित्रमा बेलायती अभिनेता जेमी बेकन पनि देखिनेछन् ।
राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति, र शशिकला गुरुङ निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् ।
बाबु श्रेष्ठ छायांकन गरेको चलचित्रमा भने राजु तामाङको द्वन्द्व निर्देशन छ।
‘एक्लो’ लाई नेपाली चलचित्र उद्योगमा वैज्ञानिक कल्पनामा आधारित उच्चस्तरीय फिल्म निर्माणतर्फको गम्भीर प्रयासका रूपमा हेरिएको छ। प्रविधि, प्रस्तुति, विषयवस्तु र अन्तर्राष्ट्रिय पहुँचको समिश्रणले यो चलचित्र नेपाली सिनेमा क्षेत्रमै नयाँ उदाहरण बन्ने अपेक्षा गरिएको छ ।