६१ लाख रुपैयाँ लिएको प्रमाणित गर सबै पैसा फिर्ता गर्छु: केदार घिमिरे

काठमाडौं । चलचित्र ‘माग्ने राजा’को निर्माण टिम बदनाम भएको छ । निर्माता, निर्देशक र लेखकले झुट बोलेपछि यो टिमको बदनाम भएको हो ।

‘माग्ने राजा’को हिरो अथवा मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा)ले आफूले ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको कुरा हल्ला मात्रै भएको बताएका छन् । उनले आफूलाई कसैले पनि ६१ लाख पारिश्रमिक नदिएको बताएका छन् ।

सुरुवाती चरणमा निर्माता मुनाल घिमिरेको कार्यक्रममा दिनभरी सुटिङ गरेर आउँदा साँझ ४ बजे एक प्लेट मःम खान दिने स्मरण गर्दै उनले फिल्ममा ६१ लाख पारिश्रमिक दिएको भनेर निर्माण टिमले भ्रम फैल्याएको बताए ।

आफूले किन दिएको भन्दा बढी पारिश्रमिक दिएको भनेर बढाएर भनेको भन्दा निर्माताले तिमीलाई केही थाहा छैन चुप लागेर बस भनेर बोल्न नदिएको बताए ।

निर्माताले सिनेमाको हाइप बढाउन जे पनि भन्नुपर्छ, जे भनेर भए पनि हाइप बढाउनुपर्छ भन्दै पारिश्रमिक बढाउँदै भन्दै गरेको बताए ।

निर्देशकले पनि हाइप बढाउन पत्रकारसँग झगडाको नाटक गरेको भन्दै चर्काचर्की देखावटी मात्रै भएको बताएको केदारले प्रष्ट पारे ।

“अर्को हुनुहुन्छ, लेखक सामिप्यराज तिमलसेना दाइ, ससुराली खलकको । उहाँले नै स्क्रिप्ट लेखेर तपाईंले खेल्नुपर्छ, तपाईं नभइ हुँदैन, तपाईंलाई नै हेरेर लेखेको भन्दै भन्नुयो,” केदारले भने, “अहिले उहाँले सिनेमाको प्रचार गर्ने बेलामा नेपाली फिल्मको पारश्रमिक महंगो भयो घटाउनुपर्छ भनेर यति लामो लेख लेख्नुभयो । ए दाइ के गरेको भनेको । म त पत्रकार हुँ, पत्रकारको धर्म हो, निभाउनै पर्यो भन्नुभयो । मलाई त सबै मिलेर सिध्याउलान् जस्तो भइसक्यो ।”

आपसी समझदारीमा पारिश्रमिक रहेको भन्दै उनले कुनै समय एक प्लेट मःममा काम गरेको भनेपछि पारिश्रमिक त्यहीअनुसारको रहेको बुझ्न उनले आग्रह गरे ।

६१ लाख पारिश्रमिक दिएको प्रमाणित गर्न निर्मातालाई चुनौती दिँदै केदारले प्रमाणित भए ६१ लाख नै फिर्ता गर्ने बताए ।

टिजरमा माग्ने राजा कलाकार पैसामा सुतेको दृश्य छ, त्यसका लागि ६१ लाख रुपैयाँ छापेको भन्दै निर्माताले प्रष्टिकरण दिन थालेको उनले बताए ।

केदारको यो अभिव्यक्तिले ‘माग्ने राजा’को टिममा पारिश्रमिकको अनर्गल प्रचारकै कारण फाटो आएको प्रष्ट देखाउँछ । यसले सिनेमाको प्रचारमा असर पर्ने सम्भावनालाई नर्कान सकिँदैन ।

केदारको यो भनाइले नेपाली चलचित्र उद्योगमा कतिसम्म झुट बोल्ने गरिँदो रहेछ भन्ने कुरा उजागर गरेको छ ।

आगामी भदौ ६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने यस चलचित्रमा केदारसँगै वर्षा सिवाकोटी, विल्सन विक्रम राई, आर्यन सिग्देल, मिस पविलगायतको मुख्य भूमिका रहेको छ ।

ऋषि लामिछानेले निर्देशन गरेको चलचित्र ‘माग्ने राजा’को पटकथा सामिप्यराज तिमल्सेनाले लेखेका छन् ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् । चलचित्रमा मुनाल घिमिरेको लगानी छ । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दै छ ।

यो पनि पढ्नुहोस्

पारिश्रमिक फगत एउटा समाचार हो, दर्शक हलमा तान्ने हतियार हुन सक्दैन