दयाहाङले समय नदिएपछि धिरजलाई लिएर सिनेमा घोषणा गरे विल्सनले

काठमाडौं । दयाहाङ राईले समय नदिएपछि विल्सन विक्रम राईले नयाँ चलचित्र बनाउने भएका छन् । विल्सनले दयाहाङलाई लिएर ‘लाहुरे एण्ड दाउरे’ बनाउने दुई वर्षअगाडि घोषणा गरेका थिए । आर्ट खबरले प्राप्त गरेको जानकारी अनुसार लामो समयसम्म दयाहाङको समय नभएपछि विल्सन अर्को सिनेमा बनाउन लागेका हुन् ।

उनीहरूबीच कागजी सम्झौता पनि भइसकेको थियो । तर, अन्ततः दयाहाङले समयअभाव भन्दै समय नदिएपछि विल्सनले धिरज मगरलाई लिएर ‘मैझारो’ बनाउने भएका हुन् ।

विल्सनको कम्पनी तक्मे प्रोडक्सनको प्रस्तुति भनिएको रहने ‘लाहुरे एण्ड दाउरे’मा बुद्धि तामाङ पनि मुख्य भूमिकामा अनुबन्ध भैसकेका थिए । विल्सनको पनि अभिनय रहने बताइएको थियो ।

कमेडी र लभस्टोरी जनरामा निर्माण हुने भनिएको सिनेमाको निर्मातामा सरिना लामा (विल्सनकी श्रीमती) र डिबी राई थिए । कार्यकारी निर्माता राजेन्द्र चोङबाङ रहने बताइएको थियो ।

गत वर्षको साउन अन्तिम वा भदौ पहिलो साताबाट छायांकन थाल्ने तयारी थियो । झापा, इलाम, पाँचथर र ताप्लेजुङमा छायांकन हुने बताइएको थियो । तर, दयाहाङको समय अभावका कारण दुई वर्षसम्म सिनेमा फ्लोरमा गएन ।

त्यसैले विल्सनले अर्को चलचित्र निर्माण गर्ने भएका हुन् । तक्मे प्रोडक्सनको ब्यानरमा चलचित्र ‘मैझारो’ निर्माण हुने भएको छ । सोमबार निर्माण पक्षले अभिनेताका रुपमा धीरज मगर अनुबन्ध गर्दै निर्माणको घोषणा गरेको हो ।

चलचित्रको लेखन तथा निर्देशन विल्सन विक्रम राईले गर्नेछन् । यो उनको डेब्यु निर्देशन हो ।

दर्जनौँ चलचित्रमा अभिनय गरेर दर्शकको मन जितिसकेका उनले ‘मैझारो’मार्फत निर्देशनमा पनि हात हालेका हुन् । यो चलचित्रमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ । सौरभ लामाले छायांकन गर्नेछन् ।

फिल्मलाई सौरभ लामाले खिच्ने छन् । छायांकन साउनको पहिलो हप्ताबाट सुरु हुनेछ ।

निर्देशक राईले यो चलचित्रको छायांकन इलाम र पाँचथरका रमणीय स्थानहरूमा गर्ने बताए । सामाजिक कथावस्तुमा आधारित ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा निर्माण हुनेछ ।