फोन कलमै नायिकाहरू रिप्लेस गरिन्छन् भन्ने केकीको झटारो कसलाई थियो ?

काठमाडौं । काठमाडौंमा आइतबार चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को पोस्टर सार्वजनिक कार्यक्रम थियो । कार्यक्रममा सिनेमाका मुख्य कलाकार उपस्थित थिए । मुख्य कलाकारमध्ये कै एक थिइन् केकी अधिकारी । उनले कार्यक्रममा एउटा असन्तुष्टि पोखिन् । उनको गुनासो थियो नेपाली चलचित्र उद्योगमा हुने विभेदबारेको । नेपाली सिनेमा क्षेत्रमा नायिकाहरूले भोगिरहेको विभेदबारे उनले टिप्पणी गरिन् ।

केकीले उक्त कार्यक्रममा महिला कलाकारहरू अझै पनि दोस्रो दर्जाका रूपमा गनिने अवस्था रहेको बताइन् । नायिकाका लागि थोरै समय पनि कम्प्रमाइज गर्न मेकर तयार नहुने गरेको उनले प्रष्ट पारिन् । हिरोको समय नमिले सुटिङ नै रोक्ने निर्माता र निर्देशक हिरोइनको समय नमिल्दा सजिलै विकल्पमा अर्को नायिका ल्याएर रिप्लेस गर्ने गरेको कटु यथार्थ उनले बिना हिचकिचाहट सुनाइन् ।

“एउटै फिल्ममा काम गरेका नायक र नायिकाबीच पनि विभेद हुन्छ । नायिका जहिले पनि दोस्रो रोजाइको पात्र बनाइन्छन्,” केकी भन्छिन्, “अहिले पनि यदि, कुनै फिल्ममा नायिका चयन भइसकेकी भए पनि नायकको सेड्युल नमिलेको कारण नायिकालाई फिल्मबाट हटाइन्छ ।”

उनले नेपाली सिनेमा उद्योगमा महिला कलाकारलाई अझै पनि ‘सेकेन्ड च्वाइस’का रूपमा हेर्ने गलत संस्कार रहेको बताइन् ।

“मैले आफैँले पनि यो अवस्था धेरैपटक भोगेकी छु । आजसम्म छायांकनमा जान नसकेका धेरै चलचित्रहरू पुरुष कलाकारको समय नमिलेकै कारणले रोकिएका छन्,” आफ्नै अनुभव सुनाउँदै उनले भनिन्, “जब ती कलाकारको समय मिल्छ, तब मात्रै हामीले पनि काम गर्ने मौका पाउँछौँ । हाम्रो समय मिलेन भने हामीलाई एक फोन कलमै रिप्लेस गरिन्छ ।”

उनले आफैँले यो अनुभव पटकपटक गरेको बताए पनि अहिले आएर किन बोलिन् ? उनले अन्तिमपटक यो तीतो अनुभव कुन मेकरसँग गरिन्, त्यो उनले स्पष्ट पारेकी छैनन् ।

तर, उनले करिब तीन साताअगाडि एउटा सिनेमाका लागि स्किन टेस्ट गरेको खबर आर्टखबरले प्रकाशन गरेको थियो । त्यही सिनेमा हो वा होइन प्रष्ट छैन । तर, हो भने उनले काम गर्ने भनिए पनि अन्तिममा अर्कै नायिका फाइनल भएकी थिइन् । जसको पोस्टर पनि सार्वजनिक भइसकेको छ ।

केकीले पछिल्ला वर्षहरूमा सफल फिल्महरू दिएकी अभिनेत्री मिरुना मगरको उदाहरण दिँदै भनिन्, “मिरुनाले लगातार सफल फिल्म दिएकी छन् । तर, अझै पनि उनको समयभन्दा पहिले मेल कलाकारको समय मिल्नुपर्छ भन्ने मानसिकता छ ।”

उनले थप भनिन्, “हुनत, हामीले पनि पर्याप्त मेहनत गर्न सकेनौँ वा ठाउँ बनाउन सकेनौँ होला । तर प्रणाली नै यस्तो छ जसमा नायिकाको प्राथमिकता सधैँ पछि पर्छ ।”

पारिश्रमिकको सन्दर्भ उठाउँदै केकीले भनिन्, “हामीकहाँ नायिकाहरूको लागि पारिश्रमिक दोस्रो कुरा हो । पहिलो कुरा त प्रतिष्ठाको लडाइँ नै हो, जुन अझै बाँकी छ । प्रतिष्ठा नभएसम्म पारिश्रमिकबारे सोच्न पनि सकिन्न ।”

केकीका यो अभिव्यक्तिले नेपाली सिनेमामा भइरहेको विभेदलाई उजागर गरेको छ । यो सुन्दा सामान्य भए पनि गम्भीर विषय हो । लैंगिक विभेदको उपज हो । पितृसत्तामक सोच हो ।

केकीको अभिव्यक्तिले नायिकाहरूले अझै पनि पारिश्रमिकभन्दा पनि अवसरका लागि संघर्ष गरिरहेका छन् । त्यसैले खरो र स्पष्टवक्ताका रूपमा चिनिएका नायिकाहरू किनाराकृत भइरहेका छन् ।

केही समयअगाडि केही नायिकाले निकै न्यून पारिश्रमिकमा काम गर्न आफूहरू बाध्य भइरहेको बताएका थिए । अहिले नायकको समय नमिल्दा साइन गरिसकेका नायिकाहरू निकालिरहेको बताए । भोलि अरुअरु कुरा आउन थाल्लान् । त्यसैले यदि, साँच्चै विभेदको सिकार नायिकाहरू भइरहेका हुन्, भने यसले हिम्मतिला केही नायिका आए अफ्ठ्यारो पर्नसक्छ । त्यसैले बिनाकारण कोही कसैलाई अपमानित गर्ने भन्दा पनि व्यवसायिकतामा जोड दिनुपर्ने देखिन्छ ।