महेश र अस्मिताको ‘सोलफुल युएसए यात्रा’ घोषणा

काठमाडौं । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी (काफ्ले)ले संयुक्त रुपमा अमेरिका भ्रमणमा जाने भएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरू सहभागी हुने सांगीतिक कार्यक्रम ‘सोलफुल युएसए यात्रा’को औपचारिक घोषणा गरिएको हो ।

सन् २०२५ को अगस्टदेखि अक्टोबरसम्म चल्ने सो सांगीतिक टुरको जानकारी गराइएको छ ।

‘ओनेस्ट रियल इस्टेट’ को प्रस्तुतिमा र ‘थ्री ई इन्टरटेन्मेन्ट’ को व्यवस्थापनमा आयोजना हुने यो सांगीतिक यात्रा अमेरिका भरिका २० भन्दा बढी प्रमुख सहरहरूमा आयोजना हुने बताइएको छ ।

टुर अन्तर्गत कोलम्बस (ओहायो), मियामी (फ्लोरिडा), ब्रानफोर्ड (कनेक्टिकट), एशबर्न (भर्जिनिया), ल्यान्कास्टर (पेन्सिलभेनिया) लगायतका विभिन्न सहरहरू समेटिनेछन् ।

थ्री ई इन्टरटेन्मेन्टका नेपाल प्रतिनिधि अन्जान बुढाथोकीका अनुसार महेश काफ्ले र अस्मिता अधिकारीप्रति अमेरिकामा रहेका नेपाली समुदायबीच विशेष आकर्षण र माग रहेकाले यो सांगीतिक यात्रा आयोजना गरिएको हो ।

कार्यक्रममा गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी दुवैले आफूहरू यो यात्राका लागि निकै उत्साहित रहेको बताएका छन् ।

अमेरिकामा बसोबास गर्ने नेपाली समुदायसँग प्रत्यक्ष रूपमा भेटघाट गर्दै आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने अवसर पाउनु खुशीको विषय भएको उनीहरूले बताए ।

महेश र अस्मिता नेपाली संगीत क्षेत्रका चर्चित नामहरू हुन् । उनीहरूको ‘लजावती झार’, ‘नाच फिरिरि’, ‘लाइटरले बिडी सल्केको’ लगायत थुप्रै गीतहरू नेपाली दर्शक–श्रोतामाझ अत्यधिक लोकप्रिय छन् ।