दयाहाङ र प्रकाशको भिडन्त, को होला बक्सअफिसमा सफल ?

काठमाडौं । चलचित्र ‘जारी–२’ र ‘सोल्टिनी’ एकै दिन रिलिज हुने भएका छन् । उपेन्द्र सुब्बाको ‘जारी–२’ र अर्जुन सुवेदीको ‘सोल्टिनी’ले एकअर्काको सामना गर्ने भएका हुन् ।

दयाहाङ राई र मिरुना मगर र प्रकाश सपूत र परीक्षा लिम्बू असोज ३ गते संविधान दिवसको बिदाको अवसर पारेर आआफ्नो चलचित्र लिएर आउन लागेका हुन् ।

दया र प्रकाशमध्ये बक्सअफिसमा को बलियो देखिनेछन्, त्यो प्रतिक्षाको विषय बनेको छ । ‘जारी–२’ उपेन्द्र सुब्बा र रामबाबु गुरुङ पुन एकजुट भएपछिको पहिलो सहकार्य हो ।

‘सोल्टिनी’ अर्जुनले ‘रंगेली’पछि निर्देशन गरेका हुन् ।

‘जारी–२’ मा निर्देशक उपेन्द्र सुब्बाको नै लेखन रहको छ । कवी सुब्बाको डेव्यु निर्देशन गरेको ‘जारी’ले नेपाली बक्सअफिसमा १७ करोड माथिको व्यापार गरेको थियो ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् । सिनेमामा दयाहाङ र मिरुनासहित विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।

गायक तथा अभिनेता प्रकाश सपूत र अभिनेत्री परिक्षा लिम्बूको मुख्य भूमिका रहेको सिनेमा ‘सोल्टिनी’मा निर्देशक सुवेदीका अनुसार दर्शकलाई फरक स्वादको कथासँग जोड्नेछ । सिनेमाले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउने छ भने दुई प्रमुख पात्रबीचको प्रेम कथा यसको मुख्य आकर्षण रहेको छ ।

सिनेमामा प्रकाश र परीक्षासहित विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुजन खतिवडा लगायतका कलाकारको अभिनय छ । सिनेमालाई अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका छन् ।

प्लानेट थ्री फिल्मस् र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता रेजिना बिस्ट र संसार चौलागाईँ हुन् ।