‘जारी २’ संविधान दिवसमा रिलिज हुने !

काठमाडौं । कवि तथा निर्देशक उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘जारी २’को गत असार पहिलो साता छायाकंन सम्मपन्न भएको थियो ।
पाँचथर जिल्लामा ३६ दिन लगाएर छायाकंन सक्काएको यो चलचित्र हाल पोस्टको काममा रहेको छ । यो चलचित्रको निर्माणपक्षले ‘जारी २’ बडादसैँको अवसरमा प्रदर्शनमा आउने बताएको छ ।
तर, बडादसैँको अवसरमा प्रदर्शन गर्ने तयारी भएको बताए पनि निर्माणपक्षले यस दिन रिलिज हुने भनेर दिन तोकेको छैन । हालको अवस्थामा ‘जारी २’ फूलपातीमा रिलिज हुन्छ भन्ने धेरैको बुझाइ छ ।
आगामी बडादसैँको अवसर पारेर फूलपातीमा अन्य तीन सिनेमा पनि प्रदर्शन हुने घोषणा भएका छन् । जसमा ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ रहेका छन् ।
‘जारी २’को रिलिज मिति औपचारिक रूपमा घोषणा नगरिए पनि निर्माण पक्ष केही दिनभित्र पोस्टर सार्वजनिक गर्दै औपचारिक मिति घोषणा गर्ने तयारीमा रहेको बुझिएको छ ।
आर्टखबर प्राप्त जानकारी अनुसार ‘जारी २’ फूलपातीमा नभएर असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शन हुने भएको छ ।
अन्य चलचित्रहरूसँगको सम्भावित प्रतिस्पर्धालाई ध्यानमा राख्दै संविधान दिवसको दिन प्रदर्शन हुने स्रोतले जानकारी दिएको छ ।
‘यसअघि ‘जारी २’ बडादसैँको अवसरमा प्रदर्शन गर्ने तयारी गरिएको हो । तर, धेरै सिनेमा जुध्ने भएकाले अगाडी वा पछाडि रिलिज गरौँ भन्ने उहाँहरूको बुझाइ छ,’ स्रोतले भन्यो, ‘सम्भावित प्रतिस्पर्धालाई ध्यानमा राख्दै असोज ३ अर्थात् संविधान दिवसको दिन प्रदर्शन गर्दा राम्रो हुने देखिएकाले निर्माणपक्ष त्यही अनुरुप लागि परिरहेको छ ।’
‘जारी २’ का निर्माता रामबाबु गुरुङले समय अनुकुल मिलाएर प्रदर्शन मिति घोषणा गर्ने पक्षमा रहेको स्रोतको भनाइ छ ।
चलचित्र ‘जारी २’ मा प्रमुख भूमिकामा रहेका दयाहाङ राई र मिरुना मगरको लुक्स पनि सार्वजनिक भइसकेको छ । सार्वजनिक तस्बिरमा मिरुना लिम्बु पहिरनमा देखिएकी छन् भने दयाहाङ च्याब्रुङ बजाउँदै गरेको अवस्थामा देखिन्छन् ।
‘जारी’ ले नेपाली बक्स अफिसमा १७ करोडभन्दा बढीको व्यापार गरेको थियो । त्यसकै सफलताको निरन्तरता स्वरूप निर्माण भएको ‘जारी २’को कथा पनि उपेन्द्र सुब्बाकै लेखन रहेको छ ।
‘जारी २’ कवि सुब्बा र निर्देशक-निर्माता रामबाबु गुरुङको पुनः सहकार्यमा निर्माण भएको चलचित्र हो । ‘जारी’को अपार सफलतापछि उनीहरू पुनः दोस्रो भाग लिएर आएका हुन् ।
यो चलचित्रको स्लोगन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको छ । च्याब्रुङ नेपालको पूर्वी पहाडमा बसोबास गर्ने लिम्बू समुदायका मानिसहरूको परम्परागत लोक बाजा हो ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्मस्को व्यानरमा बनेको चलचित्रमा दयाहाङ र मिरुनासँगै विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।