राजेशले उद्घाटन गरे नक्सालमा ‘सि–कार, एकै स्थानमा सवारीसम्बन्धी सबै सेवा

काठमाडौँ । नेपालकै प्रमुख अटो हब मानिने नक्सालमा सवारीसाधनसम्बन्धी विभिन्न सेवा एकै थलोमा उपलब्ध गराउने लक्ष्यसहित ‘सि–कार’ सञ्चालनमा आएको छ। एक भव्य कार्यक्रमबीच महानायक राजेश हमालले यसको औपचारिक उद्घाटन गरेका हुन् ।
सि–कारले नयाँ र पुराना (सेकेन्ड ह्यान्ड) सवारी साधनको शोरुम, सवारी पार्ट्स तथा एस्सेसरिज पसल, द्रुत गतिका चार्जिङ स्टेशन, क्याफे तथा रेस्टुरेन्ट लगायतका सुविधा एउटै परिसरभित्र प्रदान गरेको छ । संस्थापक रोशन घिमिरेका अनुसार सि–कारले सवारी क्षेत्रका अधिकांश आवश्यकता पूरा गर्ने उद्देश्य बोकेको छ ।
शुभारम्भ अवसरमा हमालले एउटै स्थानमा यति धेरै सेवा उपलब्ध हुनु उपभोक्ताका लागि समय र खर्च दुवैको बचत हुने उल्लेख गर्दै सि–कार जस्तो मोडलले अटो क्षेत्रमै नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
कम्पनीका अनुसार पछिल्लो समय लोकप्रियता कमाउँदै गएको विद्युतीय सवारीको क्षेत्रमा समेत सि–कारले विशेष ध्यान दिएको छ । विशेष गरी द्यथ्म् ब्रान्डको नयाँ शोरुमले ग्राहकलाई थप सहज बनाउने विश्वास गरिएको छ । साथै, विभिन्न ब्रान्डका सेकेन्ड ह्यान्ड गाडीहरूको खरिद–बिक्री, सवारी एक्सचेञ्ज तथा वारेन्टी सेवाहरू पनि उपलब्ध छन् ।
चार्जिङ सुविधाको सन्दर्भमा सि–कारले एकैपटक आधा दर्जनभन्दा बढी विद्युतीय सवारी चार्ज गर्न सकिने द्रुत चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । यसका अतिरिक्त परिसरभित्रको इटालियन रेस्टुरेन्टबाट ग्राहकले खानपानको सुविधा समेत लिन सक्नेछन् ।
सि–कारमा सवारी स्पेयर पार्ट्ससमेत सहज र सुलभ मूल्यमा पाइने व्यवस्था गरिएको छ । साथै, सेकेन्ड ह्यान्ड गाडी खरिद गर्ने ग्राहकलाई तीन महिनासम्म कुनै प्राविधिक समस्या आएमा कम्पनी स्वयं जिम्मेवार हुने गरी वारेन्टी सुविधा उपलब्ध गराइएको छ ।
ग्राहकको थप सुविधाका लागि कम्पनीले सवारी बीमा गराउनेहरूलाई बिलबुक नवीकरण निःशुल्क गरिदिने व्यवस्था गरेको छ। यसका लागि कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।
साथै, कम्पनीले विभिन्न वर्गीकरणमा सदस्यता योजना ल्याएको छ, जसअनुसार सि–कारका सेवाहरू प्रयोग गर्दा प्वाइन्ट संकलन गर्न सकिनेछ र विभिन्न सेवामा छुट प्राप्त हुनेछ ।
चार रोपनी क्षेत्रफलमा फैलिएको सि–कारले हाल करिब ५० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ। कम्पनीले भविष्यमा सेवा विस्तार गर्दै जाने लक्ष्य राखेको छ ।