पाकिस्तानी अभिनेत्रीको शव फ्ल्याटमा फेला, एक महिना अगाडि मृत्यु भएको आशंका

काठमाडौं । पाकिस्तानी मोडेल तथा अभिनेत्री हुमैरा असगर अली मंगलबार राति पाकिस्तानको कराँची शहरस्थित उनको फ्ल्याटमा मृत फेला परेकी छिन् ।
कराँची प्रहरी अधिकारीहरूले डिफेन्स हाउसिङ अथोरिटी क्षेत्रमा रहेको आफ्नो फ्ल्याटमा मृत फेला परेकी अभिनेत्री हुमैरा असगरको परिवारका सदस्यहरूले उनको शव बुझ्न अस्वीकार गरेको बताएका छन् ।
अदालतको आदेश अनुसार फ्ल्याट खाली गर्न प्रहरी उनको घरमा पुग्दा हुमैरा असगरको शव फेला परेको थियो ।
प्रहरीका अनुसार अभिनेत्रीको मृत्यु केही दिन अघि भएको थियो । तर उनको मृत्युको कारण के थियो भन्ने अझै स्पष्ट भएको छैन ।
उनले सन् २०२४ देखि भाडा तिर्न बन्द गरेको बताए, त्यसपछि घरधनीले अदालतको ढोका ढकढक्याए ।
एसएसपीका अनुसार मंगलबार अदालतको ‘बेलिफ’ (सामान जफत गर्ने कर्मचारी) सहित प्रहरी सम्बन्धित फ्ल्याटमा पुग्दा ढोका भित्रबाट बन्द गरिएको भेटियो ।
“जब प्रहरीले ढोका फोडेर भित्र पस्यो, हुमैरा अलीको शव भुइँमा लडिरहेको अवस्थामा फेला पर्यो, जुन धेरै दिन पुरानो थियो ।”
बीबीसीले प्रहरी शल्यचिकित्सक डा. सुमय्यालाई सम्पर्क गर्दा उनले शरीरको अवस्था खराब थियो तर मृत्युको कारण पछि बताउने जानकारी दिइन् ।
शवबाट नमूनाहरू लिइएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि महिलाको मृत्युको वास्तविक कारण थाहा हुने बताइएको छ ।
प्रहरीले बीबीसीलाई बताएअनुसार अनुसन्धानकर्ताहरूले फ्ल्याटबाट फोरेन्सिक प्रमाण संकलन गरेका छन् ।
‘शव कम्तिमा एक महिना पुरानो हुनुपर्छ’
कराँचीको छिपा कल्याणकारी संघका स्वयंसेवकहरूले हुमैराको शव बोकेका थिए । एम्बुलेन्स चालक जुबैर बलोचले बीबीसीलाई बताएअनुसार उनी फ्ल्याटमा पुग्दासम्म प्रहरीले ढोका फोडेर भित्र पसिसकेको थियो ।
जुबैर बलोच भन्छन्, “स्टोर रुम जस्तो कोठामा भुइँमा कार्पेटमा लडिरहेको नीलो ट्राउजर र गुलाबी टी–शर्ट लगाएकी एक महिलाको शव देखे ।”
उनका अनुसार, “यो फ्ल्याट भवनको चौथो तल्लामा थियो जसमा दुईदेखि तीन कोठा थिए । एउटा बेडरूम थियो, घरमा बिजुली थिएन ।”
घरधनीले बिजुली बन्द गरेको बताइएको छ । उनी भन्छन्, “मेरो अनुमान अनुसार शव कम्तिमा एक महिना पुरानो हुनुपर्छ ।
डीआईजी साउथ असद रजाले बीबीसीलाई बताएअनुसार जब प्रहरीले हुमैराको परिवारलाई सम्पर्क गर्यो, उनीहरूले भने, “उनी विगत ७ वर्षदेखि उनीहरूसँग सम्पर्कमा थिइनन् । एक्लै बस्दै आएकी थिइन् ।”
बुबाले शव लिन अस्वीकार गरे
डीआईजीले हुमैराको मृत्युपछि उनको परिवारलाई सम्पर्क गरिएको तर उनका बुबाले आफ्नी छोरीको शव बुझ्न अस्वीकार गरेको बताए ।
हुमैरा असगरको शव उनको घरबाट बरामद भएको खबर पाएपछि प्रान्तीय संस्कृति तथा पर्यटन मन्त्री सैयद जुल्फिकार अली शाहले डीआईजी (दक्षिण) असद रजासँग घटनाको प्रतिवेदन मागेका छन् ।
नेशनल कलेज अफ आट्र्सबाट स्नातक गरेकी हुमैरा असगरले एक अन्तर्वार्तामा भनेकी थिइन्, उनले कलेजको समयदेखि नै रफी पीर थिएटरमा काम गरेकी थिइन् । त्यसपछि उनी मोडलिङको दुनियाँमा प्रवेश गरिन् । धेरै ब्रान्डहरूको लागि मोडलिङ गरिन् ।
उनले केही वर्षअघि निजी टिभी च्यानल एआरवाईको रियालिटी शो ‘तमाशा घर’ बाट ख्याति कमाएकी थिइन्, त्यसपछि उनी धेरै टिभी नाटक र केही चलचित्रहरूमा देखा परिन् ।
हुमैरा असगरको मृत्युको खबर पाएपछि मनोरञ्जन उद्योगका धेरै व्यक्तिहरूले सामाजिक सञ्जालमा शोक व्यक्त गरिरहेका छन् । धेरैले यति धेरै दिनसम्म कसैलाई किन केही थाहा भएन भनेर आश्चर्य व्यक्त गरिरहेका छन् ।
अभिनेत्री साहिफा जब्बार खटक भन्छिन् शोबिज उद्योग बाहिरबाट धेरै ग्ल्यामरस देखिन्छ तर यसमा टिक्न धेरै गाह्रो छ ।
कराँचीमा दोस्रो यस्तो घटना
कराँचीमा एक्लै बस्ने अभिनेत्रीको शव भेटिएको यो दोस्रो घटना हो । यसअघि आयशा खान नाम गरेकी वरिष्ठ अभिनेत्रीको मृत्युको घटनामा पनि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको थियो ।
यस वर्षको जुनमा, प्रसिद्ध पाकिस्तानी अभिनेत्री आयशा खानको सात दिन पुरानो शव उनको घरमा फेला परेको थियो । उनी ७६ वर्षकी थिइन् ।
प्रहरीका अनुसार आयशा खानको मृत्यु प्राकृतिक थियो । अभिनेत्री आयशा खान गुलशन इकबाल ब्लक ७ नजिब प्लाजामा रहेको आफ्नो फ्ल्याटमा एक्लै बस्थिन् । यो फ्ल्याटबाट दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई बोलाएका थिए । जब मानिसहरूले उनको फ्ल्याटको ढोका फोडेर भित्र पसे, तब अभिनेत्री घरमा मृत फेला परेकी थिइन् । बीबीसी