बाहुबली द एपिक: ‘बाहुबली’ को जादू फेरि देखिने

काठमाडौं । दक्षिण भारतीय चलचित्र क्षेत्रको ब्लकबस्टर सिनेमाहरू मध्ये एक ‘बाहुबली द बिगिनिङ’ ले प्रदर्शन भएको दश वर्ष पूरा गरेको छ ।
अभिनेता प्रभास स्टारर यो चलचित्र १० जुलाई २०१५ मा रिलिज भएको थियो । यस सिनेमाले विश्वभर धेरै पैसा कमाएको थियो र सबैभन्दा सफल चलचित्रहरूमा आफ्नो नाम दर्ता गराएको थियो ।
एसएस राजामौलीले निर्देशन गरेको यो चलचित्र भारतीय सिनेमाका ती चुनिएका कल्ट क्लासिक फिल्महरू मध्ये एक हो, जसले भारतीय सिनेमाको लागि नयाँ आयामहरू सेट गर्यो ।
चलचित्रको दश वर्ष पूरा भएको अवसरमा, फिल्मका कलाकारहरूको भव्य पुनर्मिलन भयो । यस पुनर्मिलनमा निर्देशक एसएस राजामौली र प्रभाससँगै फिल्मका कलाकार र टोली उपस्थित थिए । यो पुनर्मिलनको तस्विरहरू फिल्मको आधिकारिक सामाजिक सञ्जालमा पनि सेयर गरिएको छ ।
टिमको पुनर्मिलनसँग सम्बन्धित धेरै तस्बिरहरू सेयर गरिएको छ। यी तस्बिरहरूमा प्रभास, राजामौली, राणा दग्गुबती, राम्या कृष्णन र एमएम केरावनी देखिएका छन् । यी तस्बिरहरूमा प्रभास छोटो कपालको लुकमा देखिएका थिए । कालो कुर्ता-शर्टको साथ कालो चश्मा र सेतो ट्राउजर लगाएका प्रभास निकै ड्यासिङ देखिए । राणा दग्गुबती कालो टी-शर्टमाथि खैरो शर्ट र कालो ट्राउजरमा देखिएका थिए ।
यो चलचित्र रिलिजको दश वर्ष पूरा गरेको सन्दर्भमा यसका निर्माताहरूले दर्शकहरूलाई अर्को उपहार दिने घोषणा गरेका छन् । चलचित्र ‘बाहुबली’को आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट घोषणा गरिएको छ कि बाहुबलीको पहिलो र दोस्रो भाग एकैसाथ सिनेमाघरहरूमा रिलिज हुनेछ ।
उक्त इन्स्टाग्राम ह्यान्डलमा लेखिएको छ – १० वर्ष पहिले, एउटा प्रश्नले सम्पूर्ण देशलाई एकताबद्ध गरेको थियो… अब त्यही प्रश्न र यसको उत्तर फर्किँदैछ – एक भव्य महाकाव्यमा सँगै । ‘बाहुबली द एपिक’ ३१ अक्टोबर २०२५ मा विश्वव्यापी रूपमा रिलिज हुँदैछ ।
के देखाइनेछ ?
‘बाहुबली: द एपिक’ वास्तवमा पहिलो र दोस्रो फिल्मको संयोजन देखाउने संस्करण हुनेछ । यस चलचित्र मार्फत निर्माताहरू फेरि एक पटक पर्दामा बाहुबलीको सम्झनाहरू ताजा गर्न चाहन्छन् ।
चलचित्रका निर्देशक एस.एस. राजामौलीले यस अवसरमा सामाजिक सञ्जालमा एक भावनात्मक पोस्ट साझा गरे जसमा उनले लेखेका छन्, ‘बाहुबली… धेरै यात्रा, अनगिन्ती सम्झनाहरू र अनन्त प्रेरणाको सुरुवात । १० वर्ष पूरा भएको छ र ‘बाहुबली द एपिक’ यसलाई यादगार बनाउन आउँदैछ !’
‘बाहुबली’ को रेकर्ड
‘बाहुबली’ ले धेरै पुरस्कार जित्यो तर यसले राष्ट्रिय पुरस्कार पनि जित्यो – जसमा सर्वश्रेष्ठ फिचर फिल्म र सर्वश्रेष्ठ विशेष प्रभावहरू समावेश छन् । यो अझै पनि छैटौं सर्वाधिक कमाई गर्ने तेलुगु चलचित्र हो र यसको हिन्दी डब संस्करण सबै समयको सबैभन्दा धेरै कमाई गर्ने डब चलचित्र हो ।