केदार घिमिरेको पारिश्रमिक विवाद : निर्माता भन्छन्- ५१ लाख दिएको प्रमाण प्रदर्शनअगाडि ल्याउँछु

काठमाडौं । चलचित्र ‘माग्ने राजा’को प्रचारप्रसार तीव्र भइरहेको बेला हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा)को पारिश्रमिकलाई लिएर सामाजिक सञ्जालदेखि मिडियासम्म चर्को चर्चा छ । केदारको पहिलो मुख्य भूमिका रहेको यो चलचित्रको प्रमोशनभन्दा बढी उनीले लिएको भनिएको पारिश्रमिकको विषयले नै दर्शकको ध्यान तानेको छ ।

सिरियलहरूमा स–साना भूमिकाबाट अभिनय यात्रा थालेका घिमिरेले एक कार्यक्रममा आफूले ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको भनिएको हल्ला असत्य भएको दाबी गरे । उनले यो हल्ला प्रचारका लागि निर्माता र निर्देशककै योजनामा फैलाइएको आरोप लगाए ।

“मैले एकप्लेट मःम खाएर मुनाल घिमिरेको सिरियलमा काम गरेको थिएँ,” अभिनेता घिमिरेले भने, “अब भन्नुहोस्, उहाँले मलाई ६१ लाख दिनुभयो होला त ? मैले माग्ने आँट गरे होला त ? कसैले प्रमाण देखायो भने म ६१ लाख फिर्ता दिन तयार छु ।”

केदारले यस्तो चुनौती दिएपछि निर्माता मुनाल घिमिरेले आफू प्रमाण पेश गर्न सक्ने अवस्थामा रहेको बताएका छन् । एक टेलिभिजन कार्यक्रममा बोल्दै उनले केदार घिमिरेलाई ५१ लाख रुपैयाँ दिएको दाबी गरे । १० लाख रुपैयाँ कर प्रयोजनका लागि छुट्याइएको पनि संकेत गरे ।

“मैले ५१ लाख दिएकै हुँ, त्यो पारिश्रमिक र मुनाफा हिस्सासहित हो,” निर्माता घिमिरेले भने, “फिल्म प्रदर्शनअघि नै बैंक स्टेटमेन्टमार्फत म त्यो रकम दिएको प्रमाण सार्वजनिक गर्न सक्छु ।”

यो लेनदेनको विवादले चलचित्रको प्रचारमा नयाँ तरंग ल्याएको छ । पोस्टर, टिजर र गीत सार्वजनिक भइसकेको अवस्थामा अभिनेता घिमिरेको पारिश्रमिकले नै फिल्मलाई भाइरल बनाइदिएको देखिन्छ । कतिपयले यसलाई ‘मार्केटिङ स्टन्ट’ ठानेका छन् भने केहीले कलाकारको मेहनतको मूल्य ठान्दै पक्षमा प्रतिक्रिया दिएका छन् ।

तर, यो प्रचारले फिल्मलाई अन्ततः फाइदा पु¥याउँछ कि हानी ? त्यो चाहिँ आउँदो भदौ ६ गते चलचित्र प्रदर्शन भएपछि मात्र प्रस्ट हुनेछ ।

‘माग्ने राजा’को निर्देशन ऋषि लामीछानेले गरेका छन् । छायांकन नरेन्द्र मैनाली, पटकथा सामीप्यराज तिमल्सेना, पाश्र्वसंगीत सुजिल कर्माचार्य र सम्पादन मित्र गुरुङको रहेको छ ।

चलचित्र नेपाल र विदेशमा एकसाथ भदौ ६ गते प्रदर्शन हुँदैछ । आरआर फिल्म्सले सिनेमा वितरण गर्दैछ ।