नयाँनयाँ रेकर्ड बनाएर अगाडि बढ्दै दुर्गेशको ‘जाने भए जाम’

काठमाडौं । गायक तथा पफर्मर दुर्गेश थापाको नयाँ गीत ‘जाने भए जाम’बोलको गीतले नयाँनयाँ रेकर्ड बनाउँदै ट्रेन्डिङ कब्जा गरेको छ ।

तीन दिनमा साढे ४५ लाखले हेरेको गीत युट्युबको एक नम्बर ट्रेन्डिङमा छ । रिलिजभन्दा केही समय अगाडिदेखि नै प्रतिक्षित बनेको गीत ग्लोबल म्युजिकको ट्रेन्डिङमा पनि प्रवेश गरिसकेको छ ।

गीत ‘जाने भए जाम’ युट्युबमा छोटो समयमा सबैभन्दा धेरै हेरिने र छोटो समयमा युट्युबको ग्लोबल ट्रेन्डिङमा जाने गीत भएको छ ।

बुधबार साँझ रिलिज भएको गीतमा दुर्गेशसँगै सिसन बानियाँ र अल्हाजी गेरोको स्वर छ । शब्द, संगीत र संगीत संयोजन दुर्गेश थापा आफ्नै छ ।

हरि हुमागाईंले खिचेको भिडियो सम्पादन मिलन विश्वकर्माले गरेका छन् । भिडियो निर्देशन शिव विकले गरेका छन् ।

भिडियोमा पनि दुर्गेश, सिसन र अल्हाजीको अभिनय छ । साथमा गुरास नानी छिन् ।

यसअघि दुर्गेशको गीत ‘दुस्मन हेरेको हेर्‍यै’ चर्चित भएको थियो । पाँच महिनामा युट्युबमा एक सय मिलियन भ्युज पाएको थियो ।

‘दुस्मन हेरेको हेर्‍यै’ चर्चित भएपछि दुर्गेश स्टेज कार्यक्रममा व्यस्त भएका थिए । अहिले दुर्गेश चलचित्रको गीत पनि गाउन थालेका छन् । सिनेमाको ओएसटीका लागि उनको माग बढेको छ ।