दिया पुन ‘मैझारो’मा अनुबन्धित

काठमाडौं । अभिनेता तथा निर्देशक विल्सन विक्रम राई (तक्मेबुढा)को निर्देशनमा बन्ने चलचित्र ‘मैझारो’मा अभिनेत्री दिया पुन अनुबन्धित भएकी छन् । निर्माण पक्षले शनिबार उनलाई औपचारिक रुपमा अनुबन्ध गरेको हो ।
यसअघि अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगर फिल्मका लागि अनुबन्धित भइसकेका थिए । अब दिया पनि फिल्ममा मुख्य पात्रका रूपमा जोडिएकी छन् ।
निर्देशक राईले भने, “कथाले मागेअनुसार दियालाई अनुबन्ध गरेका हौं । अन्य कलाकार पनि छानिँदैछन्।”
‘मैझारो’मा धिरज, मिरुना र दिया बाहेक अन्य कलाकारको नाम भने सार्वजनिक भइनसकेको निर्माण पक्षले जनाएको छ । केही दिनभित्रै बाँकी कलाकारहरूको टुंगो लाग्ने बताइएको छ ।
तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित कथा बोकेको छ । फिल्मको छायांकन साउन पहिलो साताबाट सुरु हुने छ भने ईलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिनेछ ।
चलचित्रमा संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईले दिनेछन् । गीतहरूमा राजेश पायल राई, अस्मिता अधिकारी,झुमा लिम्बू,अनमोल गुरुङ लगायतको स्वर रहनेछ ।
छायांकन सौरभ लामाले गर्ने भएका छन् । निर्देशक राईका अनुसार ‘मैझारो’ उनका लागि लेखन र निर्देशन दुबैमा डेब्यु प्रोजेक्ट हो ।