‘गुन्यो चोलो’का कारण नाजिरले हटाए इन्स्टाग्रामबाट सबै पोस्ट, किन यति धेरै समर्पित ?

काठमाडौं । अभिनेता नाजिर हुसेनले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्रामबाट हालसम्मका सम्पूर्ण पोस्टहरू हटाएका छन् ।
अभिनेता हुसेनले करिब २०० जति पोस्टहरू उनले एकैपटक हटाएका हुन् । उनको इन्स्टाग्राममा अहिले कुनै पनि पुराना पोस्टहरू देखिँदैनन्, ‘अचानक यस्तो किन ?’ धेरैलाई लाग्न सक्छ ।
उनले इन्स्टाग्रामबाट सम्पूर्ण पोस्टहरू हटाउनुको पछाडि भने एउटा विशेष कारण रहेछ, त्यो हो चलचित्र ‘गुन्यो चोलो’ ।
झन्डै तीन वर्ष लामो तयारीपछि अब यो चलचित्र दर्शकमाझ आउने तयारीमा छ र यसको रिलिज मिति चाँडै सार्वजनिक हुँदैछ । यही पृष्ठभूमिमा नाजिरले आफ्नो इन्स्टाग्राम पोस्टहरू हटाएका हुन् ।
अहिलेको समय ‘गुन्यो चोलो’का लागि पूर्णरुपमा समर्पित गर्न चाहेका कारण यस्तो कदम चालेको उनको भनाइ छ ।
“तीन वर्षको मेहनतपछि हामी यो चलचित्र दर्शकमाझ ल्याउन आँट्दैछौं । यो समय म भावनात्मक रुपमा चलचित्रसँग निकै जोडिएको छु । त्यसैले, केही समय सामाजिक सञ्जालमा ‘गुन्यो चोलो’ बाहेक केही राख्न चाहन्न,” नाजिरले बताएका छन् ।
“यो मेरो व्यक्तिगत निर्णय हो । यसमा निर्देशक वा निर्माताको कुनै संलग्नता छैन । यो मेरो प्रोमोसनल शैली हो जसबाट म दर्शकलाई देखाउन चाहन्छु कि यो चलचित्रका लागि म कति समर्पित छु,” उनी भन्छन् ।
नाजिरले आफ्नो पुराना सबै पोस्टहरू ‘डिलिट’ होइन, अस्थायी रूपमा ‘आर्काइभ’ गरेका हुन् । चलचित्र रिलिजपछिको केही समयपछि ती पोस्टहरू पुनः अनआर्काइभ गर्ने उनको योजना छ । साथै, ‘गुन्यो चोलो’ को प्रचार–प्रसारमा केन्द्रित हुन उनले दुई महिना अरू कुनै काम पनि लिएका छैनन् ।
समुन्द्र भट्टको निर्देशनमा बनेको ‘गुन्यो चोलो – कमिङ अफ एज अफ अ गर्ल’ अर्थात ‘गुलाबी’, अमेरिकी कम्पनी ‘भिजन इन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन इन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको चलचित्र हो । यसमा नाजिरले ट्रान्सवुमनको भूमिका निभाएका छन् । फिल्मको पटकथा तथा संवाद निर्देशक भट्ट र नाजिरले स्वयं लेखेका हुन् ।
चलचित्रमा नाजिरसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।
नाजिरको यो नयाँ अभियानले दर्शकमाझ चलचित्रप्रतिको उत्सुकता अझ बढाउने विश्वास गरिएको छ ।