यस वर्षको ‘ग्लोबल हिरो अवार्ड’ गायिका आनी र गायक सञ्जयलाई

काठमाडौं । यस वर्षको ‘ग्लोबल हिरो अवार्ड’ दुई नेपाली कलाकारले पाउने भएका छन् । आयोजकले यो अवार्डका लागि दुई नेपालीलाई छनोट गरेको हो ।

दुवै कलाकार संगीतबाट परेका छन् । गायिका आनी छोइङ डोल्मा र गायक सञ्जय श्रेष्ठले पाउने भएका हुन् ।

“प्राकृतिक प्रकोपले ग्रस्त र युद्धतिर बढिरहेको आजको संसारमा, संसारभर शान्तिको लागि प्रार्थना गर्दै अरूको सेवा गर्न र मानव र प्रकृति दुवैसहित प्रत्येक जीवित प्राणीको कल्याणको कामना गर्न आफ्नो जीवन समर्पित गर्ने व्यक्तिहरू भेट्टाउनु विरलै छ,” आयोजक हामी नेपाली ग्लोबलले आनीबारे लेखेको छ, “आजकल, धेरैजसो मानिसहरू केवल आफ्नो र आफ्नो परिवारको उन्नतिमा केन्द्रित छन् । तर, अरूको कल्याणको लागि आफ्नो जीवन समर्पित गर्ने केही व्यक्तिहरू पनि छन् ।”

यस्ता दुर्लभ व्यक्तिहरूमध्ये एक महिला भन्दै आनीलाई उल्लेख गरेको छ । जसले आफ्नो मीठो आवाज र कर्णप्रिय शब्दहरूमार्फत विश्वभर बुद्ध र शान्तिको सन्देश फैलाइरहेकी भन्दै चित्रण गरेको छ ।

“आनीले गाउने गीतहरूले प्रत्येक नेपालीको हृदयमा विशेष स्थान पाएका छन् । आफ्नो आवाजले, उनले बुद्धको सन्देश फैलाउन विश्वका विभिन्न भागका प्रसिद्ध सर्जकहरूसँग सफलतापूर्वक सहकार्य गरेकी छिन् । नेपालमा, उनले शुद्ध करुणाले प्रेरित भएर धेरै पीडित व्यक्तिहरूलाई निस्वार्थ रूपमा सहयोग पु¥याइन्,”

“उनका शक्तिशाली शब्दहरू र शिक्षाहरूले नेपालका मानिसहरूलाई मात्र होइन, विदेशमा रहेका लाखौँ मानिसहरूलाई पनि छोएको छ । उनको शान्त अनुहार जस्तै उनका गीतहरूमा पनि गहिरो मिठास छ,” आयोजकले आनीबारे आफ्नो वेबसाइटमा लेखेको छ ।

आयोजक हामी नेपाली ग्लोबलले गायक सञ्जय श्रेष्ठलाई अभूतपूर्व गायक भनेको छ ।

“९० को दशकमा एक अभूतपूर्व संगीत समूहको हिस्साको रूपमा देखा परेका सञ्जय श्रेष्ठले आफ्नो विशिष्ट शैलीले युवा पुस्ताका दर्शकहरूलाई मोहित पारे, चाँडै घर–घरमा परिचित नाम बनेँ,” आयोजक हामी नेपाली ग्लोबलले भनेको छ, “संगीतप्रतिको उनको अटल समर्पण उनको निरन्तर हिट गीतहरूको रिलिज, समूहमा नयाँ प्रतिभा परिचय गराउने प्रयास र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा उनको मनमोहक प्रदर्शनमा प्रतिबिम्बित हुन्छ ।”

सञ्जयले १०० भन्दा बढी नेपाली चलचित्रहरूको लागि संगीत र व्याकग्राउन्डस्कोर गरेका र दुई हजारभन्दा बढी विज्ञापनहरू सिर्जना गरेर आफ्नो बहुमुखी प्रतिभा प्रदर्शन गरेका ग्लोबलले जनाएको छ ।

‘ग्लोबल हिरो अवार्ड’ २७ जुलाईमा अमेरिकाको न्युयोर्क सहरमा ग्लोबल नेपालीद्वारा आयोजित समारोहमा यो अवार्ड प्रदान गरिने बताइएको छ ।

ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ–आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने व्यक्तित्वहरूको सम्मानमा यो अवार्ड प्रदान गर्दै आएको छ ।

दशजनालाई दिइने अवार्ड आनी र सञ्जयबाहेक राप्रपा नेता ज्ञानेन्द्र शाही, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, महिला फुटबलर सावित्रा भण्डारी (साम्बा), लेखक तथा समाजसेवी पासाङ शेर्पा, अध्यागमन अधिवक्ता, केशवराज सेडाईं, पत्रकार ऋषि धमला, आन्टरप्रेनर पासाङ लामा र संस्थातर्फ अधिकार नामक संस्थाले पनि पाउँदैछन् ।