भावना आचार्यको तीज गीत ‘सोच सोच केटी हो…’

काठमाडौं । हिन्दु नारीहरूको महान पर्व तीजलाई लक्षित गर्दै गायिका भावना आचार्य र गायक रामचन्द्र काफ्लेले आवाजमा नयाँ तीज गीत सार्वजनिक भएको छ ।

रमाइलो लय र संवादशैलीको प्रस्तुतिले सजिएको ‘सोच सोच केटी हो…’ बोलको यस गीतमा विवाह र समयको महत्त्वलाई आकर्षक तरिकाले उठाइएको छ ।

सार्वजनिक गीतको शब्द र संगीत गायिका आचार्य स्वयमले सिर्जना गरेकी हुन् भने एरेन्ज हेमन्त शिशिरले गरेका छन् ।

भिडियोको प्रमुख आकर्षण भने अभिनेत्री शिल्पा पोखरेल हुन् । लामो समयपछि तीज गीतमार्फत पुनः पर्दामा फर्किएकी शिल्पाले यसपटक नविन किशोरसँगको जोडी बाँधेको छ । भिडियोमा उनीहरूबीचको केमिस्ट्री दर्शकले निकै रुचाउने अपेक्षा गरिएको छ ।

भिडियोमा शिल्पा र नबिनका अलावा गायक काफ्ले र गायिका भावना स्वयमको पनि अभिनय देख्न सकिन्छ । तीजको माहोल, उत्साह र बहिनीहरूबीचको रमाइलो संवादलाई भिडियोले कलात्मक शैलीमा प्रस्तुत गरेको छ ।

भिडियोको निर्देशन नितिन चन्दले गरेका हुन् । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा सौखिन तिमल्सेनाको सम्पादन र विनोद विष्टको छायांकन रहेको छ ।

बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, उडी उडी आ सुवा, मलाई दिउँ दिउँ झैँ लाउने जस्ता गीतहरू बजारमा ल्याइसकेकी उनले यो गीतमार्फत फेरि एक पटक दर्शकको मन जित्ने प्रयास गरेकी छिन् ।

तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘सोच सोच’ गीतले महिलाहरूलाई विवाह र पारिवारिक जीवनप्रति सोच्न अभिप्रेरित गर्दै रमाइलो शैलीमा सन्देश दिन खोजेको छ । गायन, अभिनय र प्रस्तुति सबै पक्षमा सशक्त देखिएको यस भिडियोले तीज गीतको भिडमा विशेष स्थान बनाउने अपेक्षा गरिएको छ ।