पाँच वर्षपछि ‘डर लाग्छ’ लिएर फर्किए बिक्की गुरुङ

काठमाडौं । चर्चित गायक, गीतकार तथा संगीतकार बिक्की गुरुङ करिब पाँच वर्षपछि नयाँ गीत लिएर दर्शक–श्रोतामाझ फर्किएका छन् ।

‘मरी जाऊँ’ र ‘मरी जाऊँ २’ जस्ता लोकप्रिय गीतमार्फत उनले नेपाली संगीतप्रेमीहरूको मन जित्न सफल भएका गुरुङको सार्वजनिक ‘डर लाग्छ’ शीर्षकको यो गीतमा शब्द, संगीत र स्वर स्वयं उनकै रहेको छ ।

यस गीतमा रुपेश साख्याको बाँसुरी, सुमन बिकेको गिटार र किरण महर्जनको सारङ्गी वादन रहेको छ ।

विजय दोङले निर्देशन गरेको भिडियोमा अभिनेत्री मलिका महत, अभिनेता कुन्साङ बम्जन र मोडल पूर्णिका सिजापति फिचर्ड छन् ।

भिक्टर रसाइलीले निर्माण गरेको गीतको भिडियोको छायांकन, सम्पादन तथा कलर ग्रेडिङ जितु तामाङले गरेका छन् ।

अमेरिकामा बसोबास गर्दै आएका बिक्की गुरुङले सन् २०१५ मा ‘केवल’ बोलको गीतबाट आफ्नो व्यावसायिक संगीत यात्रा सुरु गरेका थिए ।

सिर्जनशील गायन, लेखनसँगै गुरुङ संगीत निर्देशन र कम्पोजिसनमा पनि सक्रिय छन् । परम्परागत नेपाली धुन र आधुनिक शैलीको समिश्रणमार्फत उनले आफ्ना गीतलाई विशिष्ट बनाउँदै आएका छन् ।