‘जनै हराएको मान्छे’ हेरेपछि धेरैले भने- विजय बरालले कहिले बाबु बनेर त कहिले छोरा बनेर रुवाए

काठमाडौं । हिमाल न्यौपानेको निर्देशनमा निर्माण भएको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले प्रिमियरमा पुगेका अधिकांशको मन जितेको छ । बुधबार नयाँ बानेश्वर स्थित वान सिनेमाजमा आयोजना गरिएको चलचित्र हेर्न प्रमियरमा पुगेका अधिकांश व्यक्ति भावुक भएका छन् ।

प्रिमियरमा अग्रज कलाकार शुनिल थापा, वरिष्ठ छायांकार गौरीशंकर धुंजु, अभिनेता जितु नेपाल, कवि तथा गीतकार विप्लव प्रतीक, कलाकार कमलमणी नेपाल, कलाकार लोकेन्द्र लेखक, अभिनेता प्रमोद अग्रहरि, नायक किरण श्रेष्ठ, स्क्रिप्ट राइटर प्रदीप भारद्धाज लगायत सिनेमा क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

उपस्थित कलाकार तथा आगन्तुक दर्शकहरू पनि ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को कथासँग भावनात्मक रूपमा जोडिएका थिए । चलचित्र हेरेपछि धेरै व्यक्ति भावुक हुँदा कतिपयले आफ्नो आँखामा आँसु थाम्न सकेनन् । केकी अधिकारी, अञ्जु पन्तलगायत कलाकार चलचित्र हेर्दा रोइरहेका थिए ।

नोस्टाल्जिक बनाउँदै बुवा, आमा र दाजुभाइबीचको पारिवारिक सम्बन्ध, सम्झना र जिम्मेवारीको कथा सिनेमामा हेरिरँदा रुवाएको सिनेमा हेरेपछि उनीहरूले प्रतिक्रिया दिएका छन् । सिनेमाले आफूहरूलाई जस्तै दर्शकको पनि मन छुने र आँसु बगाउन बाध्य बनाउने प्रिमियरमा चलचित्र हेर्नेहरूको प्रतिक्रिया छ । धेरै जना आँसु पुछ्दै हलबाट बाहिरिएको देखिन्थ्यो । उनीहरूले चलचित्रले मन छोएको र आफ्नै परिवारको याद दिलाएको प्रतिक्रिया दिए ।

बुवा र आमाले छोराछोरीका लागि गर्ने सम्झौता र बुवाआमाप्रतिको जिम्मेवारी निभाउने क्रममा छोराछोरी परिबन्धमा परेर उजाडिएको जिन्दगीको कथा हेरिरहँदा आँसु थाम्न नसकेको अधिकांशको प्रतिक्रिया छ ।

चलचित्रले सम्बन्धको महत्व, सपना पूरा गर्न गरिने संघर्ष र पारिवारिक मूल्यमान्यतालाई मार्मिक ढंगले प्रस्तुत गरेको देखिन्छ, जसका कारण दर्शकहरूले यसलाई भावनात्मक रूपमा बलियो चलचित्रको रूपमा लिएका छन् ।

स्क्रिप्ट राइटर प्रदीप भारद्धाजले गतवर्षको तिहारपछि हेरेका उत्कृष्ट मध्ये ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’ पाँचमा पर्ने बताउँदै भने, “विजय बरालले कहिले बाबु बनेर त कहिले छोरा बनेर रुवाए ।”

प्रिमियरमा सहभागी गायिका अन्जु पन्तले चलचित्र हेरेपछि आफू रोएर थाकेको बताइन् । उनले भनिन्, “यो चलचित्र दाजुभाइ, दिदीबहिनी, आमाबुबा र छोराछोरी सबैले सँगै बसेर हेर्नुपर्ने चलचित्र रहेछ ।” उनले चलचित्रको कथा, पटकथा र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरिन् । आफ्नो दिवङ्गत बुबालाई सम्झँदै उनले आँसु थाम्न नसकेको बताइन् ।

चलचित्रका मुख्य कलाकारमध्येका एक विजय बरालले पनि आफूले यो पात्रमा काम गर्दा पटक-पटक भावुक भएको बताए । उनले भने, “यो कथामा ६ वटा तह छन्, र ती सबै तहमा म पात्रसँगै रोएको छु ।”

चलचित्रले सम्बन्धको महत्व, सपना पूरा गर्न गरिने संघर्ष र पारिवारिक मूल्यमान्यतालाई मार्मिक ढंगले प्रस्तुत गरेको देखिन्छ, जसका कारण दर्शकहरूले यसलाई भावनात्मक रूपमा बलियो चलचित्रको रूपमा लिएका छन् ।

भोलिबाट रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा केकी अधिकारी, विजय बरालसँगै मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को असोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।