कलाकारले चलचित्रको व्यापारको ग्यारेन्टी नगर

चलचित्रको कथा वा स्क्रिप्ट लेखन होस् अथवा अभिनय या निर्देशन यी सबै क्रिएटिभ काम हुन् । कलात्मक काम हुन् । कलात्मक काम सूत्रमा चल्दैन । दुई प्लस दुई चार भने जस्तो हुँदैन । एउटै कथा, समय र परिस्थितिमा पनि फरक फरक व्यक्तिले उसको क्षमता अनुसार कला प्रस्तुत गर्छ ।
चलचित्र त आफैँमा आर्ट हो । आर्टको पूर्ण प्याकेज हो । जहाँ साहित्य, संगीत, अभिनयलगायत कलाका थुप्रै विधा हुन्छन् । त्यसैले चलचित्र कलाको सबैभन्दा सशक्त माध्यम हो । यसमा तर्क÷वितर्क गरिरहनु पर्दैन । करोडौैं लगानी गरेर कसैले पनि कलाको उत्थानका लागि चलचित्र बनाउँदैन । व्यापारसँगै कलाको उत्थान हुन्छ, त्यो बेग्लै कुरा हो ।
अभिनय कला हो, लेखन कला हो, निर्देशन कला हो भने यसका लागि काम गर्ने व्यक्ति यसमै समर्पित हुनुपर्छ, न कि व्यापारको ग्यारेन्टी गर्नतर्फ ।
केही समयअगाडि चलचित्र ‘वसन्त’ बनाउँदा यसका लेखक, निर्देशक र कलाकारसमेत रहेका प्रकाश सपूतले निर्मातालाई चलचित्र प्रदर्शन भएपछि निर्माणमा लागेको रकम फिर्ता गर्ने कागज गरेको कुरा सामाजिक सञ्जालमा आएको थियो । यसबारे उनी आफैँले भने प्रष्ट पारेका छैनन् ।
चलचित्रले राम्रो कमाउँछ तर यदि कमाएन भने आफैँ फिर्ता गर्ने कागजी सम्झौता गरेका थिए । तर चलचित्रले लगानी उठाउन सकेन । जसका कारण उनले आफ्नै खल्तीबाट पैसा निकालेर निर्मातालाई फिर्ता गर्नुपर्ने भयो ।
यसबारे प्रकाश स्वयंले समयक्रममा बोल्लान् । त्यसपछि कुरा प्रष्ट होला । तर, यदि यो सत्य हो भने सर्जकले व्यापारको ठेक्कापट्टा होइन सिर्जनामा केन्द्रित हुनुपर्छ । जब एकाग्र र एकचित्त भएर सिर्जना गरिन्छ, त्यो आफैँ राम्रो हुन्छ । त्यसले स्वतह राम्रो व्यापार गर्छ ।
सिर्जना बेच्ने काम र त्यसको सौदाबाजी व्यापारीले गर्ने हो, उसैलाई छोडिदिनुपर्छ । सर्जक आफैँ व्यापारमा केन्द्रित हुने हो भने सिर्जना राम्रो हुँदैन । सिर्जना राम्रो नभएपछि ‘न रह्यो बाँस न रह्यो बज्यो बाँसुरी’ भने जस्तै न सिर्जना नै राम्रो हुन्छ न त त्यसको व्यापार नै राम्रो हुन्छ ।
त्यसैले कलाकार आफ्नो कला माझ्नेतर्फ नै लाग्नुपर्छ, त्यसको व्यापारको जिम्मेवारी व्यापारीले लिनुपर्छ । अन्यथा न चलचित्र राम्रो बन्छ न त त्यसको व्यापार नै राम्रो हुन्छ । त्यसैले जो जे मा निपूर्ण छ, त्यो त्यसमै केन्द्रित हुनुपर्छ ।