चलचित्र ‘स्त्री’ बन्ने, मुख्य भूमिकामा प्रमोद, सलोन, रिस्ता र नम्रता

काठमाडौं । चलचित्र ‘स्त्री’ बन्ने भएको छ । बिहीबार ऋषि पञ्चमीको अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा मुहूर्त पूजा गर्दै यस चलचित्रको औपचारिक रूपमा निर्माण घोषणा गरिएको हो ।
जीवन शाहीको लेखन तथा निर्देशनमा बन्ने यो चलचित्र यही भदौ १४ गतेदेखि छायांकन सुरू हुने छ । निर्देशक शाहीका अनुसार फिल्मको सम्पूर्ण छायांकन काठमाडौँ र आसपासका क्षेत्रमा गरी ३५ दिनको सेड्युल तय गरिएको छ ।
सामाजिक कथामा आधारित ‘स्त्री’ मा कलाकार प्रमोद अग्रहरि, सलोन बस्नेत, रिस्ता बस्नेत र नम्रता श्रेष्ठको प्रमुख भूमिका रहनेछन् । त्यस्तै बाल कलाकार दिप्सन चिलवालले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।
मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा तयार हुन लागिरहेको चलचित्रका निर्माता समिर राई रहेका छन् । कथा जीवन शाहीकै भए पनि पटकथा भने शाहीले किशन अर्यालसँग मिलेर तयार पारेका हुन् ।
चलचित्रमा संगीतकारका रूपमा बाबुल गिरी, प्रोडक्सन म्यानेजर केवलमान सिंह बस्नेत, प्रोजेक्ट म्यानेजर सुबास काफ्ले, द्वन्द्व निर्देशन देव महर्जन, प्रमुख सह–निर्देशक चन्द्र भण्डारी तथा मेकअप आर्टिस्ट श्याम बराल रहनेछन् ।