चार करोड लगानीमा चलचित्र ‘स्वाहा’ बन्ने

काठमाडौं । चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टिमले नयाँ सिनेमा निर्माण गर्ने भएको छ ।
गत असारमा प्रदर्शन भएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को निर्माण पक्षले बिहीबार बालाजुस्थित अष्टनारायण हलमा प्रदर्शनको ५१ औँ दिन मनाएसँगै नयाँ सिनेमा ‘स्वाहा’ निर्माणको घोषणा गरेको हो ।
उक्त अवसरमा निर्माण टिमले एआई जेनरेटेड पोस्टर सार्वजनिक गरेको थियो । चलचित्र ‘स्वाहा’लाई ‘यो मन त मेरो नेपाली हो’कै निर्देशक नर प्रधान (मित्र)ले निर्देशन गर्ने भएका छन् ।
‘स्वाहा’ अर्थ विनाश वा सर्वनाश भन्ने हुन्छ । सार्वजनिक पोस्टरमा रोशन धनुष लिएर घोडामा सवार देखिएका छन् । यसले सिनेमामा उनी योद्धाको भूमिकामा देखिने संकेत गर्छ ।
पद्मा इश्वर इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रका अन्य कलाकारबारे भने जानकारी गराइएको छैन । हिमाली भेगको कथामा निर्माण गरिने यो चलचित्रलाई करिब ४ करोडको लगानीमा निर्माण गर्न लागिएको निर्माणपक्षले जानकारी दिएको छ । यस सिनेमामा रोशन श्रेष्ठको लगानी रहनेछ ।
चलचित्रको निर्माण टिमले अष्टनारायण हलमा केक काटेर ५१ औँ दिनको सेलीब्रेशन गरेको थियो । सो कार्यक्रममा निर्माता तथा कलाकार रोशन श्रेष्ठले फिल्मले अरु चलचित्रको जस्तो टिकट काटेर दर्शक नल्याएको बताए ।
रोशनले भने ” जति दर्शक आउनुहुन्छ स्वतस्फुर्त टिकट काटेर आएका हुन् , फिल्मको चर्चा भएन होला तर फिल्मले ५१ औँ दिन पार गरेकोमा खुशी छौं ।”
यद्यपि, चलचित्र ‘यो मन त मेरो नेपाली हो’ बक्स अफिसमा ‘सुपर फ्लप’ भएको छ ।
प्रदर्शनको ५१ दिन मनाएको खुसीयालीमा निर्माण पक्षले केक साट्दै चलचित्रका कलाकार र प्राविधिकलाई मायाको चिनो पनि प्रदान गरेको थियो । कार्यक्रममा कलाकारसंघका अध्यक्ष मोहन निरौला ,राजकुमार राई, रबिन्द्र खड्का लगाएत सिनेकमीहरु सहभागि थिए ।
