नेपाल–भारतमा एकसाथ प्रदर्शन गरिने चलचित्र ‘धागो’ कार्तिक २८ मा रिलिज हुने

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘धागो’ आगामी कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुने भएको छ ।

उदिप राणा थापाले निर्देशन गरेको यो चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, आपसी सम्बन्ध र सांस्कृतिक धागोको कथा प्रस्तुत गर्नेछ ।

पोस्टर र रिलिज मिति सार्वजनिक गर्दै निर्देशक उदिपले ‘धागो’ आफ्ना मान्छेहरूको कथा रहेको बताए । उनले भने, “मेरो सफलताको श्रेय मेरा आमाबुवाको त्याग र डुवर्सका जनताको आशीर्वादलाई जान्छ । ‘धागो’ मेरो माटो र मेरो मान्छेहरूको कथा हो । यसमार्फत मैले हाम्रो समाजका अनगिन्ती धागोहरूलाई जोड्ने प्रयास गरेको छु ।”

चलचित्रमा सुरक्षा पन्तसँगै प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतको अभिनय रहेको छ भने वर्षा राउत विशेष उपस्थितिमा देखिनेछिन् ।

चलचित्र ‘धागो’ को निर्मातामा उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन् भने सह–निर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री छन् । 

चलचित्रका छायाङ्कन निर्देशक बलिउडका अनिकेर एम. घोघले हुन् । सम्पादनमा अखिलेश राय, कस्ट्युम डिजाइनमा बिनु प्रधान, भीएफएक्समा अनुरूप केर्टकेट्टा, रङ्ग संयोजनमा अनिन्दिया एस. राय, साउन्ड डिजाइनमा अमित त्रिवेदी, कोरियोग्राफिमा कविराज गहतराज र बसन दर्जी, कन्सल्टेन्ट एडिटरमा कमलेश पराउ तथा ब्याकग्राउण्ड स्कोरमा निर्मल पन्याले योगदान दिएका छन् ।

चलचित्रका सङ्गीतकार तथा गीतकार चर्चित गायक पुष्पन प्रधान हुन् । चलचित्रको शीर्ष गीतलाई भने मन्चारी र रजिन सान्संकरले कम्पोज गरेका छन् । गायक–गायिकामा पुष्पन प्रधान, आकाङ्क्षा थापा, बाबुता मंगर, बिके परियार, उमेश छेत्री, जुनु गौतम र रजिन सान्संकर रहेका छन् ।

फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाले निर्माण गरेको चलचित्रलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।