‘कोशेढुंगा’का निर्देशक भन्छन्– दर्शकले मन छुने चलचित्र भनिरहनु भएको छ

काठमाडौं । चलचित्र ‘कोशेढुंगा’ले सकारात्मक वर्ड अफ माउथ पाएको छ । बिहीबार रिलिज भएको चलचित्रले राम्रो प्रतिक्रिया पाएको हो ।
“जति पनि दर्शकले चलचित्र हेर्नु भएको छ, दर्शकले एकदम राम्रो भनिरहनु भएको छ । मन छुने चलचित्र भन्नु भएको छ,” निर्देशक सरोज पौडेलले भने, “जति शो पाएको छ, दुवै दिन उच्च अकुपेन्सीमा चलिरहेको छ ।”
उनले क्रमशः अकुपेन्सी बढ्दै गएको बताए । “शनिबारबाट वर्ड अफ माउथका कारण कोशेढुंगा हाउसफूल हुने पक्का देखिएको छ,” उनले भने, “हामी समीक्षात्मक रूपमा दर्शकबाट सफल भइसक्यौँ, अब त्यही अनुसार हलमा दर्शकको पनि साथ रहनेमा ढुक्क छौँ ।”
बुधबार गरिएको प्रिमियरमा पनि यो चलचित्रले तारिफ बटुलेको थियो ।
ब्लड मनीको कथा उठान गरेको चलचित्रले प्रिमियरमा हरेक नेपालीको घरघरको कथा लिएर ‘कोशेढुंगा’ आएको भन्दै तारिफ पाएको थियो । यस्तै प्रतिक्रिया हलबाट पनि आएको निर्देशक पौडेलले बताए ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतको अभिनय रहेको छ ।
चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरेको यो चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।
यस चलचित्रको गीतमा रिदम कँडेल र आशिष अविरलको संगीत छ ।