कामेश्वर भन्छन्– ‘अभिमन्यू’ मैले मेरो करिअरमा कुरिरहेको सिनेमा हो

काठमाडौं । अभिनेता कामेश्वर चौरासियाले ‘अभिमन्यू’ आफूले करियरमा कुरिरहेको चलचित्र भएको बताएका छन् । यही सिनेमाका लागि अहिलेसम्म आफूले कुरिरहेको प्रमाणित भएको उनको भनाइ छ ।

“बीचमा केही वर्ष मेरो ग्याप भयो । मलाई पनि लागिरहेको थियो, किन ग्याप भयो । तर, अहिले लागिरहेको छ, यही चलचित्रका लागि मेरो करियरमा ग्याप भएको रहेछ,” कामेश्वर भन्छन्, “मैले खोजेको र रोजेको जस्तै चलचित्र अहिले आयो । सायद यसकै लागि मेरो करियरले ग्याप मागेको रहेछ ।”

चाहेर अथवा नचाहेर आफू चक्रब्यूमा परेकाले आफू त्यो समय पनि अभिमन्यु नै रहेको उनी बताउँछन् । भाग्यले डो¥याउँदै आफू ‘अभिमन्यू’सम्म आइपुगेको उनले बताए ।

“सायद त्यो बेला मैले पाएको भए पनि अभिमन्यु जस्तो चलचित्र पाउँदिन थिएँ होला,” उनले भने, “बीचमा मैले ब्रेक पाउँदा मैले आत्मविश्लेषण गर्ने मौका पनि पाएँ । मैले आफैँले आफैँलाई समीक्षा पनि गरेँ । मेले केही आत्मसमीक्षा गरेँ । तर, मेरो विगतसँग गुनासो छैन । अहिले म अभिमन्यु भएर निस्किएको छु ।”

लामो समयको ग्याप रहेको परीक्षाको फल आफ्ना लागि ‘अभिमन्यु’ भएको उनी बताउँछन् । “एउटा कालखण्डमा सबैले अवसर पाउँछ । मैले यो समयमा पाएँ,” उनी भन्छन्, “मैले मेरो मदर टङको टोनमा कथा भन्ने मौका पाएँ । यो नै मेरा लागि खुसीको कुरा हो ।”

कमेडी कलाकार घोषित भइरहँदा त्यो भन्दा फरक गम्भीर विषयको कथा बोकर ‘अभिमन्यू’ आएको र त्यसमा आफूले अवसर पाउँदा आफू खुसी रहेको उनी बताउँछन् ।

चलचित्र ‘अभिमन्यु’ भदौ २७ गते रिलिज हुँदैछ । यो चलचित्रको हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुनेछ ।

चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्नेछ ।

चलचित्र ‘अभिमन्यु’मा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् ।

मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।

‘अभिमन्यु’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।