नेपाली चलचित्र ‘रिहाना’ बुसान फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने

काठमाडौं । दक्षिण कोरियाको विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३०औँ संस्करणमा नेपाली लघु चलचित्र ‘रिहाना’ले आफ्नो वर्ल्ड प्रिमियर गर्ने भएको छ । यस वर्षको फिल्म महोत्सवमा ‘रिहाना’ एक मात्र नेपाली प्रतिनिधित्व हो ।

फेस्टिभलले जारी गरेको सूचनाअनुसार, फिल्मको विशेष स्क्रिनिङ असोज ५ र ६ गते (सेप्टेम्बर २१–२२) मा हुनेछ । यस पटक महोत्सवका लागि ३,०५९ वटा चलचित्र पेस भएका थिए, जसमध्ये उत्कृष्ट १० मा ‘रिहाना’ पर्न सफल भएको हो ।

चलचित्रको लेखन तथा निर्देशन सुरज पौडेलले गरेका हुन् । यसमा पृथु भट्ट र सृजना अधिकारीको मुख्य भूमिका छ । चलचित्रलाई उज्ज्वल बस्ताकोटी, अभिनाश विक्रम शाह र केदार भुसालले मिलेर निर्माण गरेका हुन् भने रोशनी अधिकारी कार्यकारी निर्माताको रूपमा रहेकी छन् ।

बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल विश्वकै प्रतिष्ठित फिल्म महोत्सवमध्ये एक मानिन्छ । विशेष गरी एसियाली सिनेमालाई विश्वसामु चिनाउने प्रमुख मञ्चको रूपमा यसले ख्याति कमाएको छ । नयाँ निर्देशक र फरक कथा शैलीलाई प्रोत्साहन गर्ने उद्देश्यले यसलाई ‘एसियाको क्यान्स’ पनि भनिन्छ ।

यस महोत्सवमा छनोट हुनु कुनै पनि देश वा चलचित्र निर्माताका लागि ठुलो उपलब्धि मानिन्छ । ‘रिहाना’ को यो सहभागिताले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा नेपालको उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।