‘कोशेढुंगा’ निर्देशक पौडेल भन्छन्– निर्देशकीय शिल्पमा तारिफ पाएँ

काठमाडौं । चलचित्र ‘कोशेढुंगा’ले राम्रो प्रतिक्रिया पाएको निर्देशक सरोज पौडेलले बताएका छन् । दर्शकले ‘कोशेढुंगा’ले हलमा दर्शकको प्रशंसा पाइरहेको बताएका छन् ।
भदौ १२ गतेदेखि प्रदर्शन भइरहेको चलचित्रको लेखक तथा निर्देशन उनै निर्देशक हुन् जसले ‘पूर्ण बहादुरको साङ्गी’को कथा लेखन र निर्देशन गरेका थिए ।
‘पूर्ण बहादुरको साङ्गी’का निर्देशकले बनाएको चलचित्र ‘कोशेढुंगा’ कस्तो होला भन्ने धेरैलाई कौतुहलता थियो । “आइतबारसम्म आइपुग्दा चलचित्रले उत्कृष्ट प्रशंसा पाइरहेको छ,” निर्देशक पौडेलले भने, “चलचित्र लेखन, निर्देशन र कलाकारको मिहिनेतको दर्शकले खुलेर तारिफ गरिरहनु भएको छ ।”
चलचित्र निर्देशनमा पौडेलले आफूलाई स्थापित गरेका छन् । व्यापारिक आंकडालाई छोड्ने हो भने उनी निर्देशनमा खरो उत्रिन सफल भएका छन् । उनले ‘पूर्ण बहादुरको सारङ्गी’को शाखलाई निर्देशकीय पक्षबाट जोगाएका छन् ।
“सबै चलचित्रले उत्तिकै समान व्यापार गछन् भन्ने हुँदैन । सबै ब्यापार गर्ने चलचित्र राम्रो र राम्रो व्यापार नगर्ने चलचित्र नराम्रा भन्ने हुँदैन,” उनी भन्छन्, “कुन चलचित्र निर्देशकीय रूपमा उत्कृष्ठ छ, त्यो महत्वपूर्ण कुरा हो ।”
नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतको अभिनय रहेको छ ।
चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरेको यो चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।
यस चलचित्रको गीतमा रिदम कँडेल र आशिष अविरलको संगीत छ ।