‘कुसुमे रुमाल’का नाममा रहेका यी दुई रेकर्ड

काठमाडौं । नेपाली चलचित्र उद्योगमा ‘कुसुमे रुमाल’ एउटा गर्विलो नाम हो । यो आफैँमा ऐतिहासिक चलचित्र हो ।

यनको नाममा पनि एउटा रेकर्ड छ । ‘कुुसुमे रुमाल’ नेपाली चलचित्र उद्योगमा रजत जयन्ती मनाउने पहिलो चलचित्र हो । रजत जयन्ती भन्नाले चलचित्र प्रदर्शनको २५ हप्तालाई मानिन्छ । लगातार २५ हप्ता चलेर यसले रजत जयन्ती मनाएको थियो । २५ हप्ता भनेको १७५ दिन अथवा करिब ६ महिना हो ।

‘कुसुमे रुमाल’ विसं २०४२ सालमा प्रदर्शनमा आएको थियो । यो चलचित्रलाई तुलसी घिमिरेले निर्देशन गरेका थिए । उनको यो दोस्रो निर्देशन हो । यो चलचित्रमा कथा लेखन र सम्पादन पनि उनकै छ ।

उद्धव पौड्याल प्रस्तुतकर्ता र सुमित्रा पौडेल निर्माता रहेको यो चलचित्रको नाममा रजत जयन्तीबाहेक अर्को रेकर्ड पनि ट । त्यो हो, गायक उदितनारायण झाको अभिनयमा डेब्यू । यही चलचित्रमार्फत उनले अभिनयमा डेब्यु गरेका थिए ।

यो चलचित्रमा भुवन केसी, तृप्ति नाडकरको मुख्य अभिनय थियो । यसमा नीर शाह, प्रदीप पाख्रिन, विश्वमनीसँगै दार्जिलिङका हमजाएगा नामक एक चालकले पनि अभिनय गरेका थिए । उनी निकै रसिक र ख्यालठट्टा गरिरहने स्वभावका थिए । जसले सिनेमालाई रसिक बनाउन सहयोग गरेका थिए ।

प्रेमकथामा आधारित यस चलचित्रका गीतहरू निकै लोकप्रिय भएका थिए । यसमा प्रशस्तै कमेडी पनि थियो ।

त्रिकोणात्मक प्रेमकथामा आधारित ‘कुसुमे रुमाल’मा ‘रेली खोला बगर’, ‘सुन भन न’, ‘तिमी नभए जिन्दगानी’लगायत गीत थिए । रञ्जित गजमेरको शब्द र संगीत रहेका गीतमा उदित नारायण झा, दीपा झा, श्रवण घिमिरे र भारती घिमिरेले गाएका थिए ।

यो चलचित्रका संगीतकार रञ्जित गजमेर र निर्माता तथा प्रदर्शक उद्धव पौडेलबीच चलचित्रको स्वामित्वलाई लिएर विवाद पनि भयो । गजमेरले पौडेलबाट आफूलाई धोका भएको बताएका छन् ।

गजमेरले आफ्नो पुस्तक ‘मोहनी मादलको’मार्फत यो आरोप लगाएका हुन् ।

“हामीले अत्यन्त विश्वासका साथ पौडेलललाई कुसुमे रुमालको पहिलो प्रिन्ट थमाउँदै नेपाल पठायौँ । तर, नेपाल पुगेर उहाँले त्यो चलचित्र आफ्नो नाममा दर्ता गर्नुभएछ । चलचित्र धुमधामले चल्यो । ठाउँठाउँमा सिल्भर जुबली र सय दिन पनि मनायो,” उनले लेखेका छन्, “फिल्मको कमाइबाट पौडेलले चलचित्र हल निर्माण गर्नुभएको पनि सुनियो । तर, पौडेलले मुनाफाको एक पैसा पनि हामीलाई दिनुभएन । उहाँ एकाएक हामीसँग बैरी हुनुभयो । हाम्रोबीच त्यो बेलादेखि बन्द भएको बोलचाल आजपर्यन्त पनि कायमै छ ।”

पौडेलले भने रञ्जित गजमेर चलचित्रको आधिकारिक व्यक्ति नै नभएको र आधिकारिक व्यक्ति तुलसी घिमिरे भएकाले यो कुरो पहिले नै मिलिसकेको बताउँदै आएका छन् ।

‘कुसुमे रुमाल’ नेपाली चलचित्र उद्योगको २० औँ चलचित्र हो ।