अमेरिकाको एएमसी सिनेमा चेनका दुई सयभन्दा बढी हलमा प्रदर्शन हुँदै ‘बलिदान’

काठमाडौं । चलचित्र ‘बलिदान’ले अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको लागि इतिहास रचेको छ । सन्तोष सेनको निर्देशन तथा समीर भट्टको अभिनय रहेको यो बहुप्रतीक्षित चलचित्र पहिलो पटक अमेरिकाको सबैभन्दा ठुलो सिनेमा चेन एएमसी (AMC) मा प्रदर्शनमा आउन लागेको छ ।
योसँगै ‘बलिदान’ अमेरिकाभरका २०० भन्दा बढी हलहरूमा एक हजार भन्दा बढी शोसहित देखाइने अपेक्षा गरिएको निर्देशक सेनले बताए ।
यसअघि कुनै पनि नेपाली चलचित्र एएमसी चेनमा प्रदर्शन नभएको इतिहास तोड्दै ‘बलिदान’ ले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याएको दाबी सेनले गरे ।
एएमसी मात्र नभई सिनेमार्क, मार्कस र रेगलजस्ता अन्य प्रतिष्ठित अमेरिकी सिनेमा चेनहरूमा समेत ‘बलिदान’ प्रदर्शन हुनेछ ।
याे चलचित्रमा समीरका साथै, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन लगायतको अभिनय रहेको छ । आशुसेन फिल्म्सको प्रस्तुतिमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता रहेका छन् ।