कसरी तयारी गरेका थिए किरणले ‘अभिमन्यु’को इन्स्पेक्टर बन्न ?

काठमाडौं । चलचित्र ‘अभिमन्यु’बाट अभिनेता किरण श्रेष्ठलाई प्रहरी इन्स्पेक्टरको रोलमा अफर आउँदा उनलाई सुरुमा गरौँ कि नगरौँ भन्ने दोधार थियो ।
तर, उनलाई लाग्यो म यही अभिनय पेसामा छु भने यो र यस्तै मात्रै गर्छु भनेर हुँदैन, सबै गर्नुपर्छ । त्यसपछि उनले निर्माण टिमलाई भने– म काम गर्छु । यो उनले लिएको चुनौती थियो । किन भने उनको प्रहरीको भूमिका पहिलोपटक निभाउँदै थिए ।
सुरुमा उनलाई प्रहरीको औराहा अथवा एटिच्युड दिन सक्छु कि सक्दिन भन्नेमा संकोच थियो । तर, उनले आँट गरे । आँट गरेपछि नसक्ने कुरै थिएन ।
उनले प्रहरी इन्स्पेक्टर कस्तो देखिन्छ, के गर्छ, कसरी बोल्छ, कस्तो हुन्छ उसको एटिच्युड यसका लागि उनले अध्ययन गरे । प्रहरी प्रधान कार्यालय नक्साल पुगेर प्रहरी इन्स्पेक्टरको बेसिक लुक्स, लवज र एडिच्युडबारे जानकारी लिए ।
त्यसपछि उनको भाउजुको भाइ प्रहरी इन्स्पेक्टर छन्, उनलाई भेटे । र, धेरै कुरा जानकारी लिए । जेस्चर र पोस्चरका लागि सामान्य तालिम लिए । वर्कआउट गरे ।
“जब मैले स्क्रिप्ट पढ्दै गएँ । मैले ट्याकल गर्नुपर्ने कामेश्वर दाइसँग रहेछ,” किरण भन्छन्, “त्यसपछि मलाई झन धेरै सजिलो भयो ।”
“कताबाट क्यामेरा लागेको छ, अलि नर्भस भएको थिएँ । तर, कामेश्वर दाइले म यताबाट आउँदै छु, तिमी यसो गर भनेपछि पेस बढ्दै गयो,” किरण भन्छन्, “त्यसबाहेक निर्देशकले यस्तो यस्तो गर्ने भनेपछि मलाई थप सहज भएको थियो ।” सुरुका टेकमा त केही नर्भस पनि भए । तर, विस्तारै पेस बढ्दै गयो ।
सुरुमा च्यालेन्जिङ लागे पनि पछि हसज र सरल भएको उनको अनुभव छ ।
चलचित्र ‘अभिमन्यु’ भदौ २७ गते रिलिज हुँदैछ । यो चलचित्रको हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुनेछ ।
चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्नेछ ।
किरणसँगै ‘अभिमन्यु’मा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् ।
मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।
‘अभिमन्यु’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।