हेर्नुस फेसबुकमा दीपकराज गिरी, सन्तोष सेन र रोहितका स्टाटस र दोहोरी, उत्रिए एकअर्काविरुद्ध

काठमाडौं । केही दिनदेखि निर्माता रोहित अधिकारीले लगातार निर्देशक तथा निर्माता सन्तोष सेनप्रति लक्षित गर्दै टिप्पणी गरिरहेका थिए । अरुलाई फेक आइडीमार्फत गाली गरेर सिनेमा चलाउने दिन गए भनिरहेका थिए ।
नियोजित रूपमा गाली गराउनेविरुद्ध कानुनी उपाचारमार्फत ठेगान लगाउने चेतावनी दिइरहेका थिए । तर, उनले नाम उल्लेख गरेका थिएनन् ।
अन्ततः उनले मंगलबार आफ्नो चलचित्रबारे सामाजिक सञ्जालमा नकारात्मक लेख्नेहरूविरूद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएका छन् ।
मंगलबार साइबर ब्युरो पुगेर उनले आफ्नो सिनेमा ‘माइतीघर’बारे सामाजिक सञ्जालमा असभ्य र अभद्र कमेन्ट गर्नेहरूविरूद्ध निवेदन दर्ता गराएका हुन् । उनले करिब दुई दर्जनविरुद्ध निवेदन दिएका छन् ।
रोहितको स्टाटसमा कमेन्ट गर्दै दीपकले लेखेका छन्, “खेतादा संस्कृतिविरुद्धको तिम्रो लडाइँ सही छ । जय नेपाली सिनेमा ।”
आजै दीपराज गिरी र सन्तोष सेनबीच फेसबुकमा दोहोरी नै चलेको छ । सन्तोष सेनले दीपकलाई फेसबुकमा ट्याग गर्दै उनको आलोचना गरेका छन् ।
दीपकले भने नाम कसैको नाम उल्लेख गरेका छैनन् । उनको स्टाटु सन्तोषप्रति नै लक्षित हो भन्ने प्रष्टै हुन्छ ।
दीपकले लेखेका छन्, “आफ्नो फिल्मको प्रचार गर्नुको साटो अरूको फिल्मलाई गाली गर्न लगाउने काम बन्द गरौँ । आफ्नो हिरो बाघ । अरूको स्याल ? याद गरौँ, बाघ पनि जनावर नै हो ।”
दीपकले फेसबुकमा यो स्टाटस लेखेपछि सन्तोषले लेखे, “तिम्रो सोचमै पाप छ । कसैलाई कमेन्ट गर्न लगाएर लाखौँ दर्शकको भावनासँग खेलबाड गर्ने जुन तुच्छ सोच पालेको छौ, त्यो काम नगर । यी दर्शककै मायाले तिमी आज यहाँसम्म आइपुगेका छौ, त्यसैले उनीहरूको भावनालाई कुल्चने अधिकार कसैलाई छैन ।”
सन्तोषले अगाडि लेखेका छन्, “हाम्रो ‘बलिदान’को पोस्टमा आउने नकारात्मक कमेन्टहरू के तिम्रो समूहकै काम हो ? तिमीलाई हार स्वीकार्य छैन । त्यसैले हामीले ठूला चुनौतीहरू मोलेर सिर्जना गरेका कामलाई पचाउँन नसक्नु तिम्रो कमजोरी हो । दर्शकको भावनामा चोट पु¥याउँदै । फेक अकाउन्ट बनाएर घटिया कमेन्ट गर्ने अनि उल्टै हामीलाई आरोप लगाउने सोचले कहिल्यै कसैलाई अगाडि बढाउँदैन ।”
“कलाकार र सिर्जनाकर्ताहरूबीच प्रतिस्पर्धा हुनुपर्छ । तर त्यो सिर्जनाको गुणस्तरमा । म कालीमाता र पशुपतिनाथको कसम खाएर भन्छु मैले आजसम्म कहिल्यै अरूलाई गिराएर आफैँ अगाडि बढ्ने पापी सोच पालेको छैन,” उनले लेखेका छन्, “हामीले तीन÷चार वर्षदेखि दर्शकका लागि केही अर्थपूर्ण सिर्जना गर्न सकिन्छ कि भनेर लागिपरेका छौँ । कलालाई सम्मान गर, किनभने कलाकार र दर्शकबिना यो यात्रा अधुरो हुन्छ । यदि, वास्तवमै मैले कहिल्यै कसैलाई नकारात्मक कमेन्ट गर्न लगाएको छु भने मैले बलिदानको सुरुआत नै कालीमाताको चरण छोएर गरेको हुँ । कालीमाता र पशुपतिनाथसमक्ष प्रार्थना गर्दछु, यसै क्षण मेरो जीवन अन्त्य होस् ।”
सन्तोषको यो कमेन्टपछि दीपक फेसबुकमा लेखेका छन्, “चोरको खुट्टा काटभन्दा खुट्टा उचाल्यो चोरले । विचरो न त व्यंग्य बुझ्छ । न वौद्धिकता थाहा छ, बुरुकबुरुक साँढे उफ्रे झैँ उफ्रिन्छ, माया लाग्छ ।”
सन्तोषले यसअघि पनि दीपकको कडा आलोचना गरेका थिए । दीपकले चलचित्र उद्योगबाट पैसा कमाए पनि चलचित्र क्षेत्रलाई केही योगदान नगरेको आरोप लगाएका थिए ।