निर्माता पौडेल भन्छन्– मेरो सिनेमाका सबै कलाकार सुपरस्टार

काठमाडौं । चलचित्र ‘अभिमन्यु’ पौराणिक पात्रसँग नाम मिले पनि यो चलचित्र फरक विषयवस्तुमा आधारित रहेको निर्माणपक्षले जनाएको छ ।

पैैसाको चक्रव्यूहमा फस्ने र त्यहाँबाट कसरी उम्किने भन्ने कथा भएकाले ‘अभिमन्यु’ नाम राखिएको निर्माता विनोद पौडेलले बताए ।

“पैसाको चक्रव्यूमा को फस्छ र को निस्किन्छ, त्यसमा अपहरणलगायत कथा छन्,” उनले भने, “यसका लागि बुनिएको सिक्वेन्सको आधारमा हामीले नाम राखेका हौँ । महाभारतको अभिमन्यु र चक्रव्यूहसँग सम्बन्धित छैन ।”

सुरुमा यो चलचित्रको नाम चक्रव्यूह राखिएकोमा त्यो नाम विकास बोर्डमा दर्ता भइसकेकाले त्यसैसँग सम्बन्धित नाम ‘अभिमन्यु’ राखिएको उनले बताए ।

चलचित्रको प्रचारका लागि निर्माता तथा कलाकारले विशेष जोड दिनुपर्ने विनोद बताउँछन् । “एउटा चलचित्र असफल भयो भने कलाकार, निर्देशक, निर्मातालगायत सबैको टाउकोमा फ्ल्पको ट्याग लाग्छ,” विनोद भन्छन्, “त्यसैले रिलिज नहुँदासम्म मार्केटिङका लागि किन बल नगर्ने भन्ने लाग्छ । त्यसैले हामी जोजो सक्छौँ, आफ्नो तर्फबाट मिहिनेत गर्छौं ।”

हरेक कलाकार सफल र सक्षम भएकैले आफूले आफ्नो सिनेमामा लिने गरेको उनले बताए । “म मेरो चलचित्रका हरेक कलाकारलाई सुपरस्टार देख्छु,” उनी भन्छन्, “त्यसैले नै मैले उहाँहरूसँग काम गरेको हुँ । चलचित्र कलाकारले मात्रै बन्दैन । त्यहाँ ठूलो टिम हुन्छ । हरेक व्यक्तिको उत्तिकै भूमिका हुन्छ ।”

प्रायः बक्सअफिसमा सफल चलचित्र मात्रै दिने कलाकारलाई मात्रै सफल वा चलेका कलाकार भन्न नहुने उनको तर्क छ ।

अभिनेता प्रकाश दाहाल चलचित्र बक्सअफिसमा चले पनि नचले पनि कलाकारले सधैँ साधना गर्ने र आफूलाई अब्बल बनाउन प्रयास गरिरहेको हुने स्पष्ट पार्छन् ।

चलचित्र ‘जुवा’जस्तै भएकाले रिलिजअगाडि नै चल्छ र यति नै बिजनेस गर्छ भन्न नसकिने उनले बताए । “चलचित्र जुवा नै हो । रिलिज नभएसम्म के हुन्छ भनेर भन्न सकिन्नँ,” उनले भने, “त्यसैले राम्रो कथामा राम्रोसँग सिनेमा बनाउने हो । चल्छ अथवा चल्दैन, प्रदर्शन पनि मात्रै थाहा हुन्छ ।”

विनोद पौडेल चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता हुन् । जसले नेपाली चलचित्र उद्योगमा ऐतिहासिक ग्रसकलेक्सन गरेको छ ।

भदौ २७ गते प्रदर्शनमा हुने ‘अभिमन्यु’मा लक्ष्मीसँगै कामेश्वर चौरासियासँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् ।

मुकेश खनालको लेखन रहेको चलचित्रको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् । ‘अभिमन्यु’मा शरद महतोको डीओपी छ ।