कृषा चौलागाईंको कथा तथा निर्देशनमा चलचित्र ‘पारस’ निर्माणकाे घोषणा

काठमाडौं । चलचित्र ‘पारस’ बन्ने भएकाे छ । बुधबार निर्देशक कृषा चौलागाईंको जन्मदिन पारेर चलचित्र ‘पारस’काे घोषणा गरिएको हो । यो फिल्मको कथा तथा निर्देशन कृषाकै हुनेछ ।

उनकै भाई बिशाल चौलागाईंको लगानीमा निर्माण हुन लागेको यस फिल्मलाई सचिन लदियाले लेखेका हुन् । निर्माण पक्षले फिल्मको डिओपी पुरुषोत्तम प्रधानले गर्ने जानकारी दिएको छ ।

यसअघि कृषा र पुरुषोत्तमले ‘ऐचो पैचो’र ‘पिताम्बर’मा सहकार्य गरेका थिए । उनीहरुको यो तेस्रो सहकार्य हो । निर्माता बिशालकोे पनि यो टिमसँग तेस्रो नै सहकार्य हो ।

केपी फिल्मस्का व्यानरमा निर्माण हुने यो फिल्म फागुनबाट छायांकनमा जानेछ । बुधबार साँझ कालोपुल नजिक रहेको एक पार्टी प्यालेसमा फिल्मको घोषणा कार्यक्रममा निर्देशक कृषाले यो फिल्म एक्सनका साथै लभ स्टोरी हुने जनाएकी छन् ।