‘रिमै’को प्रिमियरमा कस्ले के भने ?

काठमाडाैं । भाेलि (शुक्रबार)बाट प्रदर्शनमा आउने सिनेमा ‘रिमै’को प्रिमियरमा गरिएका छन् । न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजना गरिएको प्रिमियरमा ‘रिमै’ हेर्न सिनेमाकर्मी र रंग पत्रकार उपस्थिति थिए । सिनेमा हेरिसकेपछि सबैले यसकाे तारिफ गरेका थिए ।
सिनेमा हेरिसकेपछि अभिनेताबाट निर्देशक बनेका विल्सन विक्रम राईले ‘रिमै’ मन छुने सिनेमा बनेको बताए । यो सिनेमा हालसम्म गुरुङ समुदायमाथि बनेको उत्कृष्ट सिनेमा भएको उनको भनाई थियो ।
यता, सिनेमाका अभिनेता तथा निर्देशक माओत्से गुरुङले पनि रिमै निकै राम्रो बनेको प्रतिक्रिया दिए । ‘निर्देशकले हाम्रो समुदायमाथि एउटा निकै राम्रो सिनेमा निर्माण गर्नु भएको छ । सवैले साथ दिनु जरुरी छ । त्यसैले सवै समुदायका दर्शकलाई ‘रिमै’ हेर्न अनुरोध छ ।’
सिनेमाकी मुख्य अभिनेत्री रिश्मा गुरुङले पनि आफ्नो करिब ८ वर्षपछिको कमव्याकलाई लिएर उत्साहित रहेकाले सिनेमा हेरिरहँदा रोचक लागेका अनुभव सेयर गरिन् । ‘म लामो समयदेखि अमेरिकामा बस्दै आएकी छु । म जुन शहरमा बस्छु, त्यहाँ नेपाली समुदायको बसोबास निकै कम छ । त्यसैले अमेरिकामा रहँदा यो सवै मिस गरिरहेकी थिए । आज रिमै हेरिरहँदा त्यो सवै भुलेर नयाँ अनुभव बटुले । सिनेमा निकै राम्रो बनेको छ । लामो समयपछि काजी र मैंयाको जोडी पुन पर्दामा आएकाले दर्शकलाई आकर्षित गर्ने विश्वास छ,’ उनले भनिन् ।
यो सिनेमाका निर्देशक खिलबहादुर गुरुङ आफुले विगत ३ वर्ष यता रातदिन रिमै बाहेक अरु केही नसुनी काम गर्दाको परिणाम आज पाउँदा खुशी लागेको बताए । ‘हामीले इमान्दारीताका साथ सिनेमा निर्माण गरेका छौं । दर्शकले मन पराई दिनु हुन्छ भन्ने विश्वास छ । आज प्रिमियर शोबाट मिलेको प्रतिक्रियाले सिनेमाको व्यापारमा अझै प्लस गर्ने विश्वास छ,’ निर्देशक गुरुङले भने ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।
कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्मातामा छन् ।
खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ । यो सिनेमा आगामी भाद्र २० गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ ।