के के छन् ‘हरिबहादुरको जुत्ता’ चल्ने आधारहरु ?

काठमाडौं । दिपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ दशैँको फूलपाती अर्थात असोज १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।
हरिवंश आचार्यले टेलिभिजनमा जिवन्त पारेको पात्र हरिबहादुर दशौँ पुस्ताले देखिसकेको र चिनिसकेको पात्र हो । अब यही लोकप्रिय पात्रलाई ठुलो पर्दामा देख्न पाइने भएकाले चलचित्रलाई लिएर दर्शकमाझ उत्साह उच्च छ । पारिवारिक र रमाइलो कथावस्तु भएको यस चलचित्रलाई दशैँको पारिवारिक माहोलमा दर्शकले रुचाउने विश्वास निर्माण पक्षले लिएको छ ।
चलचित्रको सार्वजनिक प्रचार सामग्रीले पनि दर्शकहरूमाझ राम्रो प्रभाव पारेको छ । पोष्टर, गीत र टिजरले दर्शकको मन जित्न सफल भएका छन् । विशेषगरी ‘बेला बितेसी’ बोलको गीत युट्युबमा २६ लाखभन्दा बढी पटक हेरिनुका साथै २ लाख ५० हजारभन्दा बढी टिकटक भिडियोहरू बनेका छन् । त्यस्तै, ‘ढाका टोपी शिरैमा’ गीतले पनि ३ दिनमै १० लाखभन्दा बढी भ्यूज पाएको छ, जसले चलचित्रलाई दर्शकमाझ पुर्याउन मद्दत गरेको छ ।
‘हरिबहादुरको जुत्ता’ पारिवारिक सिनेमाका रूपमा हलमा आउने भएकाले यसको व्यापारिक सफलता प्रति धेरैलाई आशा छ । हलमा परिवारसहित चलचित्र हेर्ने परम्परा अझै बलियो छ, र हरिबहादुरजस्तो सबैलाई चिनिएको पात्र त्यो भावनासँग स्वाभाविक रूपमा जोडिन्छ ।
‘हरिबहादुरको जुत्ता’ को सफलताका लागि बलियो टिम र कलाकारको दमदार उपस्थिति पनि महत्त्वपूर्ण आधार बनेको छ । दर्शकमाझ प्रिय पात्रलाई ठुलो पर्दामा उतार्ने यो प्रयासले कस्तो नतिजा ल्याउने भन्ने प्रश्न छ । तर प्रचार, संगीत र बलियो टिमलाई हेर्दा ‘हरिबहादुरको जुत्ता’ यो दशैँमा हलतर्फको यात्रालाई रमाइलो बनाउन सक्ने बलियो दावेदार बनेको देखिन्छ ।
हरिवंश आचार्यले नै लेखेको यस चलचित्रमा उनको साथमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, किरण केसी, राजाराम पौडेल र दिव्य देव लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेको यो चलचित्रलाई कृष्ण बहादुर थापाले खिचेका हुन् भने नकुल खड्काले सम्पादन गरेका छन् । वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ ।