लडाइँ झगडा गरेर जग हसाउँन बन्द गर

केही दिनयता नेपाली चलचित्र क्षेत्रमा वाक युद्ध चलिरहेको छ । निर्माताहरूबीचको दोहोरीले बजार तरंगीत छ ।
दीपकराज गिरी, सन्तोष सेन र रोहित अधिकारीबीचको फेसबुक दोहोरी हेर्न लायक छ । सुरुसुरुमा फेसबुक स्टाटसमा देखिएको दोहोरी अडियो हुँदै भिडियोमा पुगेको छ ।
एकले अर्कालाई गालीगलौज गरिरहेकाहरूले एकअर्कालाई नंग्याउन अडियो र भिडियो नै सार्वजनिक गर्ने अवस्थामा पुगे । रोहितले आफ्नो सिनेमा ‘माइतीघर’को प्रचार सामग्रीमा आएर गालीगलौज गरेको भन्दै प्रहरीमा पुगेर उजुरी नै दिए ।
अहिलेको बिन्दुमा निर्माताहरू आइपुग्नुमा गत वर्षको दशैँमा रिलिज भएका ‘१२ गाउँ’ र ‘छक्का पञ्जा–५’बाट सुरु भएको द्वन्द्व हो ।
त्यो सयम दीपकराज गिरीले आफ्नो चलचित्रविरुद्ध सँगै प्रदर्शन भएको चलचित्रका निर्माताले साइबर सेना प्रयोग गरेको आरोप लगाएका थिए । त्यसपछि उनीविरुद्ध सन्तोष सेनले आलोचना गर्र्दै प्रमाणित गरेर देखाउन चुनौती दिएका थिए । दीपकराज गिरीले सय करोड चलचित्रबाट कमाए पनि चलचित्र क्षेत्रको विकासका लागि केही काम नगरेको आरोप लगाएका थिए ।
त्यही तुष दुवैको मनमा रहेको कुरा अहिले आएर देखिएको छ । यो झगडा कहाँसम्म पुग्ने हो, थाहा छैन । तर, यसले नेपाली चलचित्रभित्र एकले अर्कासँग मनमा आगो पालेर बसेको र पाउन बित्तिकै झोस्ने प्रमाणित भएको छ ।
सानो चलचित्र उद्योगको छ । पाइलापाइलामा एकअर्कासँग ठोक्किनुपर्ने अवस्था छ । हरेक कार्यक्रममा आमनेसामने हुनुपर्छ । त्यस्तै परे दुईचार वर्षपछि सहकार्य नै गर्नुपर्ने अवस्था आउँछ । तर, एकले अर्काविरुद्ध आगो ओकलिरहेका छन् । बदनाम भइरहेका छन् ।
परे एकले अर्काविरुद्ध मुद्दामामिलामै उत्रिने अवस्थामा पुग्ने देखिन्छ । आर्थिक लेनदेनमा मुद्दामामिला जानु सामान्य हो ।
तर, एकले अर्कोको चलचित्रको विषय र कलाकारलाई लिएर गरिने सम्बोधन र टिकाटिप्पणीका आधारमा गालीगलौजमा उत्रिनु शोभनीय होइन ।
चलचित्र राम्रो बनाएर चलाउने हो । फलानोको नराम्रो मेरो राम्रो भनेर भन्ने होइन ।
कमेन्ट स्वतस्फूर्त हुन् कि होइनन् धेरैलाई थाहा भइसकेको छ । विस्तारै यो कुरा झन् प्रष्ट होला । कसैले कसैको चलचित्र नराम्र्रो, मेरो चाहिँ राम्रो भनेकै आधारमा दर्शक हलमा जाने/नजाने पनि होइन ।
जुन चलचित्र दर्शकलाई राम्रो लाग्छ, त्यही हेर्ने हुन् । चलचित्र व्यापारिक प्रोडक्ट भइसक्यो । यसलाई बेच्ने नै हो । प्रतिस्पर्धा हुन्छ नै । तर, स्वस्थ प्रतिस्पर्धा हुनुपर्यो । सानासानो विषयमा झगडा गरेर जग हसाउनेभन्दा पनि मिल्नेतर्फ लाग्नुपर्छ । यसमै सबैको भलो हुनेछ ।