सामाजिक निष्क्रिय पार्ने घोषणापछि टिकटक र भाइबर तर्फ कलाकार

काठमाडौं । सरकारले गत बिहीबार मात्र २५ वटा सामाजिक सञ्जाललाई निष्क्रिय पार्ने घोषणा गरेको थियो । सरकारले उक्त निर्णयले गरेपछि विशेष गरी यसको असर सबैभन्दा पहिले नेपाली संगीत र चलचित्र वृत्तमा देखिन थालेको छ ।

नेपाली चलचित्र क्षेत्रमा फेसबुक र इन्स्टाग्राम सबैभन्दा प्रभावकारी प्रचार–प्रसारको प्लेटफर्म मानिन्छन् । नयाँ गीत र फिल्मको पोस्टर रिलिज, ट्रेलर प्रमोशन, लाइभ अन्तर्वार्ता र फ्यान इन्टरेक्शन सबैभन्दा बढी यी प्लेटफर्ममै हुने गरेका थिए । अब भने कलाकारहरू डिजिटल बजार गुमाउने भयमा परेका छन् ।

मेटा कम्पनीअन्तर्गतका लोकप्रिय एप– फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप निष्क्रिय भएपछि कलाकार र सेलिब्रेटीहरू प्रशंसकहरूसँग सम्पर्क कायम राख्न विकल्प खोज्दै टिकटक र भाइबरतर्फ मोडिएका छन् ।

फिल्म र गीतको बजार अहिले सामाजिक सञ्जालकै भरमा टिकेको छ। फेसबुक र इन्स्टाग्राम बन्द हुँदा लाखौं दर्शक–फ्यानसम्म पुग्ने बाटो साँघुरिने पक्का छ ।

अभिनेता प्रदीप खड्काले अमेरिका टूरबाट फर्किएलगत्तै टिकटक खाता खोलेका छन् । उनले फेसबुकमै आफ्नो नयाँ टिकटक खाताको क्यूआर कोड सार्वजनिक गर्दै भनेका छन् – “मलाई आधारिकरुपमा यहाँ खोज्नुहोस साथीहरू ।”
प्रदीपको यस्तो अनुरोध सार्वजनिक भएको केही घण्टामै ३३५ भन्दा बढी फ्यानले उनलाई फलो गरिसकेका छन् ।

त्यस्तै, लोकप्रिय हास्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ले पनि फेसबुकमार्फत आफ्ना फ्यानलाई टिकटकमा भेट्न आग्रह गरेका छन् । उनले लेखेका छन् – “यदि फेसबुक बन्द भैहाल्यो भने यो मेरो टिकटक हो है हजुर ।”

यी मात्र होइनन्, पछिल्लो २४ घण्टामा धेरै गायक, मोडल र फिल्मकर्मीहरूले भाइबर एप डाउनलोड गरेको देखिएको छ । उनीहरूले खाता खोल्ने बित्तिकै सेव गरिएको नम्बरमा ‘फ्रेंड नोटिफिकेसन’ आउन थालेपछि सेलिब्रेटीहरूले भाइबर प्रयोग बढाइरहेका तथ्य खुलेका छन् ।

सरकारको यो निर्णय लामो समय कायम रह्यो भने नेपाली मनोरञ्जन बजारको डिजिटल स्वरूप नै फेरिन सक्ने देखिन्छ । फेसबुक र इन्स्टाग्रामजस्ता स्थापित प्लेटफर्म गुमाउँदा कलाकारहरूलाई प्रचार–प्रसारमा ठूलो धक्का लाग्ने निश्चित छ, तर टिकटक र भाइबर जस्ता विकल्पलाई कसरी उपयोग गर्ने भन्नेमा नै अबको भविष्य टेकेको छ ।