दोस्रो सातामा पनि ‘कोशेढुंगा’को उच्च अकुपेन्सी, दर्शकको मन जित्दै

काठमाडौं । सर्वकालिन सफल सिनेमा ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको नयाँ चलचित्र ‘कोशेढुंगा’ दोस्रो सातासम्म आइपुग्दा उच्च अकुपेन्सीसहित चलिरहेको छ ।

भदौ १२ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रलाई वर्ड अफ माउथ निकै सकारात्मक मिलेको छ । यही कारण हिजो शुक्रबार र आज शनिबार देशभरका सिनेमा हलहरूमा ‘कोशेढुंगा’ हाउसफुल देखिएको छ ।

पछिल्लो समय ‘कन्टेन्ट बेस्ड’ चलचित्रप्रति दर्शकको आकर्षण बढिरहेको छ । देशभरका हलहरूमा उच्च अकुपेन्सीसहित प्रदर्शन भइरहेको ‘कोशेढुंगा’को वर्ड अफ माउथ अझै बलियो भएका कारण निर्देशक र कलाकार मोफसलका दर्शक भेट्न विभिन्न स्थान पुगिरहेका छन् ।

‘पूर्ण बहादुरको साङ्गी’का निर्देशकले बनाएको चलचित्र ‘कोशेढुंगा’ कस्तो होला भन्ने धेरैलाई कौतुहलता थियो । “दोस्रो सातासम्म आइपुग्दा चलचित्रले उत्कृष्ट प्रशंसा पाइरहेको छ,” निर्देशक पौडेलले भने, “हामी जहाँ-जहाँ पुगेका छौँ, चलचित्र लेखन, निर्देशन र कलाकारको मिहिनेतको दर्शकले खुलेर तारिफ गरिरहनु भएको छ ।”

‘कोशेढुंगा’ ले नेपालीको घरघरको कथा लिएर आएको भन्दै दर्शकबाट तारिफ पाइरहेको कार्यकारी निर्माता दिनेश खड्काको भनाइ छ ।

‘जति पनि दर्शकले चलचित्र हेर्नु भएको छ, एकदम राम्रो भनिरहनुभएको छ । मन छुने चलचित्र भन्नुभएको छ’ कार्यकारी निर्माता खड्काले भने, ‘जति शो पाएको छ, उच्च अकुपेन्सीमा चलिरहेको छ ।’

चलचित्र निर्देशनमा पौडेलले आफूलाई स्थापित गरेका छन् । व्यापारिक आंकडालाई छोड्ने हो भने उनी निर्देशनमा खरो उत्रिन सफल भएका छन् । ‘पूर्णबहादुरको सारंगी’जस्तो ब्लकबस्टर चलचित्र दिएका पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’को शाखलाई निर्देशकीय पक्षबाट जोगाएका छन् । उनले यसपटक बेरोजगारी, निराशा र परदेशी जीवनलाई कथा बनाउन खोजेका छन् ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतको अभिनय रहेको छ ।

चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरेको यो चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।

यस चलचित्रको गीतमा खेम सेञ्चुरी, रिदम कँडेल र आशिष अविरलको संगीत छ ।