अधिकांश मेकर दर्शकका आँसु खोज्दै हिँड्दा ‘पूर्णबहादुरको सारंगी’का निर्माता उल्टो बाटोमा

काठमाडौं । नेपाली सिने जगतमा पछिल्लो एक वर्षमा मेकरहरू दर्शक रुवाउनतर्फ केन्द्रित भए । जसरी हुन्छ हलमा पुगेका दर्शकको आँखाबाट आँसु बगाउनुपर्छ भन्ने पहिलो उद्देश्य मेकरमा देखियो ।
त्यसैले चलचित्र चलाउने माध्यम नै दर्शकको आँसुलाई बनाउने प्रयास गरियो । रोएर आँसु पुछ्दै बाहिरिएका वा सिनेमा हेरिरहेका दर्शक रोहिरहेका दर्शकलाई सामाजिक सञ्जालमा भाइरल बनाउने प्रयास गरियो ।
दर्शकलाई सधैँ उस्तै सिनेमाले कतिसम्म र कहिलेसम्म बाँध्न सक्लान् यो अहिलेको मुख्य प्रश्न हो । लगातार एउटै परिकार कति समयसम्म बेजोड स्वाद भन्दै दर्शकले खाइरहलान् ?
यही एउटै शैलीको चक्र तोड्ने बाटोमा गत वर्ष दर्शकका आँखाबाट आँसु झारेर दर्शकको मन जितेर ऐतिहासिक रेडर्क बनाएका ‘पूर्णबहादुरको सारंगी’का मेकर अघि बढेका छन् ।
विनोद पौडेलको चलचित्र ‘अभिमन्यु ः च्याप्टर वान’को ट्रेलर, टिजर र गीतहरूले त्यही संकेत गरेका छन् । हालसम्म सार्वजनिक सामग्रीहरू हेर्दा पर्दामा नयाँ र प्रभावशाली कन्टेन्ट हेर्न सकिने अपेक्षा गर्न सकिन्छ । उनी दर्शकलाई कसरी रूवाउने भन्ने चक्करमा देखिएका छैनन् ।
ट्रेलर सार्वजनिक भएपछि यो फिल्म धेरैको नजरमा परेको छ, अझ त्यसमा पनि किशोर समूह र युवा दर्शकको विशेष ध्यान तानिएको छ ।
तर, त्यो ध्यान कस्तो रूपमा परिणत हुन्छ भन्ने भदौ २७ पछि मात्र थाहा हुनेछ । यो चलचित्रमा विनोदले अहिले बजारमा भनिएका स्टारलाई कास्ट गरेका छैनन् । यो चलचित्रको विशेषता भनेकै यसको अन्डररेटेड कलाकारको छनोट हो । जो बुलन्द अभिनय क्षमता भएर पनि अपेक्षित लाइमलायटमा छैनन् । ती कलाकारहरूको छानी छानी लर्को लगाइको छ ।
उनीहरूको उपस्थितिले यो सस्पेन्स थ्रिलरले गज्जबको मनोरञ्जन दिने सम्भावना छ ।
कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी वर्देवा, गौमाया गुरुङ र शिशिर वाङ्देलले कस्तो अभिनय गर्नेछन् भन्नेमा अतिरिक्त व्याख्याको आवश्यकता छैन। यस्तै प्रकाश दाहाल पनि यो फिल्मका विशेष रूपमा हेर्नुपर्ने कलाकार हुन्। ‘अगस्त्य च्याप्टर वान’ मा गरेको उत्कृष्ट कामकै कारण उनले यो फिल्म हात पारेका हुन् ।
डेब्यू निर्देशकको चलचित्रमा यो स्तरको ट्रेलरलाई धेरैले उच्च प्रशंसा गरेका छन् । गत वर्ष जसरी नयाँ निर्देशकका चलचित्रहरू चलेर कमाउनेतर्फ सूचिकृत भए, यस फिल्मले पनि त्यही सिलसिला पछ्याउने धेरैको अनुमान छ ।
त्यसैले, निर्देशक शुशान्त गौतमको कथावाचन ट्रेलरमै देखिएझैँ भएमा यस फिल्मले यो जनरामा नयाँ मानक स्थापित गर्नेछ ।
उनले दर्शकलाई पुरानो ढर्राबाट निकालेर नयाँ स्वाद दिने र अन्डररेटेड कलाकारलाई मुख्यधारमा ल्याउने सम्भावना यस फिल्मबाट प्रबल देखाएका छन् ।
फिल्म यही भदौ २७ गतेदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउँदै छ भने, “अभिमन्यु च्याप्टर वान” को हिन्दी संस्करण असोज ६ गतेदेखि रिलिज हुँदैछ ।