‘मोहर’ हेर्ने दर्शकलाई ‘सुनको मोहर’ जित्ने अवसर

काठमाडौं । ओम प्रतिकको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मोहर’ ले बक्स अफिसमा ५ करोडभन्दा बढीको व्यापार गरिसकेको छ ।

वर्षकै दोस्रो हिट सिनेमा बनेको ‘मोहर’ले दर्शकका लागि उपहार योजना ल्याएको छ । अब यो चलचित्र हेर्ने दर्शकले ‘सुनको मोहर’ जित्न सक्ने भएका छन् ।

यस योजनामा सहभागी हुन भदौ २३ गतेदेखि असोज ११ गतेसम्म चितवनको ‘म्याङ्गो जन ज्योती सिनेमा’, समाखुशीको ‘क्यूएफएक्स स्क्वायर मल’, किर्तिपुरको ‘किर्तिपुर सिनेप्लेक्स’ र न्यूरोडको ‘रञ्जना सिनेप्लेक्स’ मध्ये कुनै एक हलमा गएर चलचित्र ‘मोहर’ हेर्नुपर्नेछ ।

आफ्नो टिकटको पछाडि नाम र मोबाइल नम्बर लेखेर हलमा राखिएको बक्समा खसाल्नुपर्नेछ । कूल ९ जना भाग्यशाली दर्शकले यो पुरस्कार जित्नेछन् । विजेताहरूलाई चलचित्र ‘मोहर’को ५१ दिने कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिने निर्माण टिमले बताएको छ ।

चलचित्र ‘मोहर’मा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्म मेकर्स प्रा.लि.को व्यानरमा निर्माण भएको ‘मोहर’ का निर्माता चुम्बन जंग शाही हुन् ।