चलचित्र ‘अभिमन्यु’को रिलिज स्थगन

काठमाडौं । चलचित्र ‘अभिमन्यु’को रिलिज स्थगन भएको छ । भदौ २७ गतेलाई रिलिज तय गरिएको चलचित्रको प्रदर्शन स्थगित गरिएको हो ।
जेन्जी पुस्ताको प्रदर्शनपछि सिर्जना भएको दुःखद् घटनाका कारण प्रदर्शन स्थगन गरिएको निर्माणपक्षले जनाएको छ ।
“जेन्जी पुस्ताको प्रदर्शनमा भएको धरपकड र गोलाबारीका कारण सिर्जना भएको विषम परिस्थितिबारे सबै अवगत नै छौं । यस दुःखद् घटनामा ज्यान गुमाउनु परेका निर्दोष आत्माहरूप्रति हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । शोकसन्तप्त परिवारजनप्रति गहिरो संवेदना प्रकट गर्दै घाइते सबैमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । यस दुखद घडीमा चलचित्र सार्वजनिक गर्नु नैतिक र भावनात्मक दृष्टिले उचित नहुने ठानेर हाम्रो आगामी चलचित्र “अभिमन्यु” लाई पूर्वनिधारित मिति भदौ २७ गते प्रदर्शनमा ल्याउन नसक्ने निर्णय गरेका छौं। नयाँ प्रदर्शन मिति चाँडै तय गरी सार्वजनिक गरिनेछ । यस निर्णयका कारण देश तथा बिदेशमा रहनुभएका वितरक, प्रदर्शक र दर्शकमा पर्न गएको असुविधाप्रति हामी जानकार छौं र तपाईंहरूको समर्थन तथा समझदारीका लागि आभारी छौं ।,” निर्माण टिमले विज्ञप्ति जारी गर्दै भनेको छ ।
निर्माण टिमले अवस्था सामान्य भएपछि चलचित्रको प्रदर्शन गर्ने जनाएको छ । “उचित मितिमा प्रदर्शनको मिति तय गरेर जानकारी गराउने छौँ,” विज्ञप्तिमा उल्लेख छ ।
‘अभिमन्यु’मा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति रहेको ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् ।
मुकेश खनालको लेखन रहेको चलचित्रको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् । ‘अभिमन्यु’मा शरद महतोको डीओपी छ ।