चलचित्र ‘गुन्यु चोलो’को प्रदर्शन स्थगित

काठमाडौं । चलचित्र ‘गुन्यु चोलो’को प्रदर्शन स्थगित भएको छ । सोमबार (आज) भएको जेन्जीको प्रदर्शनका कारण अकालमा दजनौं युवाले ज्यान गुमाएको दुःखद् घडीमा चलचित्र नचलाउने निर्णय गरिएको निर्माणपक्षले जनाएको छ ।

‘गुन्योचोलो’को प्रदर्शन भोलिदेखि अनिश्चितकालका लागि स्थगन गरिएको निर्माणपक्षले बताएको छ ।

“देशका निर्दोष युवा, विद्यार्थी र नागरिकमाथि सरकारले गरिरहेको गोलीकाण्ड र दमनले हाम्रो हृदय चिरिएको छ । सडकमा बगेको रगतले केवल युवाहरूको मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्यलाई डुबाएको छ,” विज्ञप्तिमा भनिएको छ, “यस्तो अमानवीय शासनविरुद्ध हामी मौन बस्न सक्दैनौँ । त्यसैले हाम्रो चलचित्र गुन्योचोलोको प्रदर्शन भोलिदेखि अनिश्चितकालका लागि रोक्ने निर्णय गरेका छौँ ।”

“जबसम्म यो देशका सहिद युवाहरूको रगत सुक्दैन, जबसम्म न्याय र उत्तरदायित्वको प्रत्याभूति हुँदैन, हामी उत्सव वा मनोरञ्जन गर्ने स्थितिमा छैनौँ,” विज्ञप्तिमा उल्लेख छ, “हामी कलाकार, हामी स्रष्टा, कलम र पर्दाबाट बोल्छौं । आज हाम्रो आवाज यही हो, रगत बगाउने दमनकारी सत्ता ढल्नैपर्छ । देशका सहिद आत्माहरूले शान्ति पाउन् भन्ने कामनासहित, हामी पशुपतिनाथसँग प्रार्थना गर्दछौँ । साथै, हामीलाई विश्वास छ, तपाईं दर्शकहरू हाम्रो यो निर्णयमा साथ दिनुहुनेछ ।”

समुद्र भट्टले निर्देशन गरेको चलचित्रमा नाजिर हुुसेनसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको अभिनय छ ।