चलचित्रकर्मीहरुले गरे यस्तो साझा आह्वान

काठमाडौं । चलचित्रकर्मीहरुले राष्ट्रिय सम्पत्तिको तोडफोड नगर्न आग्रह गरेका छन् । उनीहरुले नागरिक सरकार गठन गरेर शान्ति सुव्यवस्था कायम गरी नयाँ निर्वाचनको तयारी गर्न पनि आग्रह गरेका छन् ।

“देशमा विद्यमान विकृति, विसंगति र भ्रष्टाचार उन्मुलनका लागि सरकारी तत्परताको माग राख्दै जेनजीको आह्वानमा भदौ २३ गते भएको विशेष आन्दोलनप्रति देशमा हामी चलचित्रकर्मीहरु पूर्ण समर्थन गर्दछौँ । शान्तिपूर्वक भैरहेको आन्दोलन दबाउन सरकार द्वारा गरिएको बर्बर दमन र १९ जनाको ज्यान जाने गरी भएको नर संहारले हामी चलचित्रकर्मीको हृदय छिया छिया भएको छ,” चलचित्रकर्मीहरुले साझा विज्ञप्ति जारी गर्दै भनेका छन्, “जेनजीका मागहरु सम्बोधन गरी तत्काल राष्ट्रिय निकास निकाल्न सबै पक्षसँग हामी आव्हान गर्छौं । देशको राजनीतिक रूपान्तरणको यो सम्बेदनशिल क्षणमा हामी सबैले धैर्यताका साथ देश हितमा शान्तीपूर्वक र समाधानमुखी कदम चाल्नुपर्ने आवश्यकता रहन्छ ।”

अब सबै पक्षबीच सरसल्लाह गरी नागरिक सरकार गठन गरेर शान्ति सुव्यवस्था कायम गरी नयाँ निर्वाचनको तयारी गर्नुपर्नेमा उनीहरुको जोड छ ।

“जेनजी आन्दोलन दबाउन भूमिका खेल्ने सम्पूर्ण पक्षलाई विशेष छानबिन आयोग गठन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ । अहिलेको मुख्य समस्या रहेको भ्रष्टाचार रोक्न विशेष अधिकारसम्पन्न आयोग बनाउन तत्काल निर्णय गर्न पनि आग्रह गर्दर्छौ ।”

“जेनजीको आन्दोलन सफलताको बाटोमा अगाडि बढिसकेको हुँदा अब राष्ट्रिय सम्पत्तिहरुको तोडफोड र नास नगर्न हामी अनुरोध गर्दछौं,” विज्ञप्तिमा भनेका छन् ।

चलचित्रकर्मीहरु :
मनोज पण्डित
नवीन सुब्वा
दयाहाङ्ग राई
निश्चल बस्नेत
अवीरल थापा
साम्पिय राज तिमलसिना
रामकृष्ण पोख्रेल
गणेशदेव पाण्डे
अनुप बराल
सुरक्षा पन्त
केकी अधिकारी
रिचा शर्मा
स्वस्तिमा खड्का
खगेन्द्र लामिछाने
केपी पाठक
सचिन घिमिरे
दीपेन्द्र के खनाल
विनोद पौडेल
दीपक रौनियार
निरोज महर्जन
पुरेन्दु झा