मदनकृष्ण श्रेष्ठ भन्छन्- अब युवापुस्तालाई नेतृत्व दिनुपर्ने समय आएको छ

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अब देशको नेतृत्वको जिम्मा युवापुस्तालाई दिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा एकपोष्ट गर्दै कलाकार श्रेष्ठले देशका लागि नेता नागरिकको चाहना बुझ्ने चुनिनु पर्ने बताउँदै भ्रष्टाचारी थुनिनुपर्ने धारणा समेत अगाडि सारेका हुन् ।

‘देश र समयले अहिले परिवर्तन चाहिरहेको छ । ५० वर्ष पहिलेका युवाभन्दा अहिलेका युवा बौद्धिक रहेकाले उनीहरूलाई नै नेतृत्वको जिम्मेवारी दिनुपर्ने धारणा व्यक्त गर्दै,’ उनले लेखेका छन्, ‘समय अनुसार नहिँड्नेलाई समयले छोडिदिन्छ भन्ने कुरा जेनजी आन्दोलनले प्रष्टसँग देखाएको छ ।’

उनी अगाडि लेख्छन्, ‘हामीले आफ्नो समयमा समयले अह्राएको कामहरू गर्‍यौँ । अबको यो समयले युवा पुस्तालाई नै नेतृत्वको जिम्मा दिनुपर्छ भन्ने प्रस्टै छ किनभने समयको प्रतिनिधित्व युवाहरूले गरेको हुन्छ ।’

श्रेष्ठ थप्छन्, ‘युवा शक्ति कति बलियो हुन्छ भन्ने कुरा नेपालका जेनजीको एकताले संसारलाई देखाइदिए । अबको समय हामी संयम भएर संसार भरि छरिएर बसेका नेपालीहरू समेत एकजुट भएर हाम्रा अमूल्य भौतिक संरचनाहरूलाई जोगाउने, संरक्षण गर्ने, पुन निर्माण गर्ने र भ्रष्टाचार रहित विधिको शासन पद्धति अपनाउँदै नयाँ नेपाल बनाएर विश्वलाई देखाउने बिन्दुमा आइपुगेका छौँ ।’

श्रेष्ठले अन्तिममा भनेका छन्, “देश र समयले परिवर्तन चाहिरहेको छ । हामीले आफ्नो समयमा समयले दिएको जिम्मेवारी पूरा गर्‍यौं । अब यो समय युवापुस्ताको हो । युवाको माग नै समयको माग हो ।”