कोमल वलीले भनिन्- जब मेरो गीत बज्नेछ, लुट्ने हात काँप्नेछन्

काठमाडौं । गायिका तथा पूर्वसांसद कोमल वलीले आफ्नै होटल जेनजी आन्दोलनका क्रममा आगजनीमा परेपछि सामाजिक सञ्जालमार्फत पीडा पोखेकी छन् ।

उनले आफ्नो जीवनभरको पसिना, आँसु र सपना खरानी बनाइएको भन्दै भावुक स्टाटस सार्वजनिक गरेकी हुन् ।

वलीले लेखेकी छिन्, “हामी बामे सर्दै थियौँ, तर नियतवश मेरो पसिना, आँसु र सपना खरानी बनाइयो। मैले सधैँ साथ दिएको जेन-जीको आन्दोलनकै आवरणमा मेरो सपना जलाइयो, यस्तो गर्नेहरूलाई कहिल्यै भलो हुने छैन ।”

आन्दोलनमा ज्यान गुमाएका सहिदलाई श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले निर्दोष बालबालिकाको मृत्युले आफूलाई गहिरो पीडा दिएको उल्लेख गरेकी छन् ।

उनका अनुसार, रेडियो नेपालमा गीत गाएर र समाचार वाचनबाट कमाएको पारिश्रमिकमा खरिद गरिएको जग्गामा ऋणसहित बनाइएको होटल रोजगार सिर्जना गर्ने र स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने सपना बोकेको परियोजना थियो । तर आगलागीका कारण ४० जना स्थानीयले रोजगारी गुमाएको उनले दुखेसो गरिन् ।

राजनीतिमा प्रवेशअघि गायन, खेलकुद र रेडियोमार्फत देश चिनाएको अनुभव सुनाउँदै वलीले आफू भ्रष्टाचारमुक्त जीवन बिताउँदै आएको दाबी गरिन् । “यदि म भ्रष्टाचारमा संलग्न भएको प्रमाणित हुन्छ भने गोली खान तयार छु,” भन्दै उनले आर्थिक प्रलोभन कहिल्यै नलिएको स्पष्ट पारिन् ।

उनले जेन-जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीलाई योजनाबद्ध अपराध बताएर प्रश्न गरिन्, “के मेरो घर ध्वस्त पार्नु, होटलमा आगो लगाउनु नै क्रान्ति हो? स्थानीयको रोजगारी खोस्नु परिवर्तनको बाटो हो?”

वलीले यसअघि २०६१ सालतिर माओवादीहरूले पनि आफ्नो घर जलाएको र सात वर्षसम्म जग्गा कब्जा गरेको स्मरण गर्दै, फेरि नयाँ पुस्ताले त्यही गलत कार्य दोहोर्याएको आरोप लगाइन्।

आफ्नो आत्मसम्मान र देशप्रतिको मायालाई भने कसैले खरानी बनाउन नसक्ने बताउँदै उनले चेतावनी दिइन्, “पापको परिणाम भोग्नैपर्छ । जब जब मेरो गीत ‘तुलसीपुरमा म जाँदाखेरि’ बज्नेछ, लुट्ने हात काँप्नेछन् ।”