पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै कलाकारहरूले के भने ?

काठमाडौं । नेपालले पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गराएसँगै उनी मुलुककी ४२ औं प्रधानमन्त्री बनेकी हुन् ।
जेनजी आन्दोलनपछि बनेको सहमतिअनुसार कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिइएको हो । उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै प्रतिनिधिसभा विघटन गर्ने सिफारिससमेत गरेकी छन् । आगामी ६ महिनाभित्र नयाँ निर्वाचन गर्ने उद्देश्यसहित बनेको यो सरकारलाई मुलुकमा ‘नयाँ अध्याय’ को सुरुवातको रूपमा हेरिएको छ ।
नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको उदय केवल नेतृत्वको परिवर्तन मात्र नभई महिलाले राजनीतिक निर्णायक स्थान पाएको ऐतिहासिक क्षणको रूपमा हेरिएको छ ।
प्रधानमन्त्रीमा कार्कीलाई कलाकारदेखि सर्वसाधारणसम्मले उत्साहपूर्वक स्वागत गरेका छन् । सामाजिक सञ्जालमा धेरै कलाकारहरुले यो क्षणलाई ऐतिहासिक भन्दै शुभकामना व्यक्त गरेका छन् । उनीहरूले बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना समेत दिएका छन् ।
अभिनेता अनमोल केसीले ‘इतिहास रचियो’ भन्दै जेनजी आन्दोलनलाई यस परिवर्तनको प्रमुख कारणका रूपमा उल्लेख गरेका छन्। उनले आन्दोलनमा प्राण गुमाएका सहिदलाई श्रद्धाञ्जली अर्पण गर्दै, “अब न्याय, समानता र समृद्धिको जगमा नयाँ नेपालको निर्माण हुनेछ” भनेका छन् ।
अभिनेता पल शाहले यो क्षणलाई ‘देशको इतिहासमा सुनौलो अक्षरले लेखिने’ घटना भनेका छन् । आमालाई माया, अनुशासन र न्यायको प्रतीकका रूपमा व्याख्या गर्दै उनले कार्कीको नेतृत्वमा नयाँ आशाको यात्रा सुरु भएको बताएका छन् ।
अभिनेता तथा निर्माता दीपकराज गिरीले प्रतीकात्मक शैलीमा, “आमा भएर बोकी हेर सन्तानका पिरहरू” भन्दै कार्कीलाई जिम्मेवारीप्रति सचेत गराएका छन् । उनले केही समयअघि जेनजी आन्दोलनलाई समर्थन गर्दा धम्कीहरू पाएको अनुभवसमेत सुनाएका थिए ।
अभिनेता प्रदीप खड्काले नयाँ सरकारलाई ‘देश र जनताको जिम्मेवारी पूरा गर्ने शक्ति र साहस मिलोस्’ भन्दै शुभकामना दिएका छन् । उनले सहिद र आन्दोलनकारीप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
वरिष्ठ कलाकार हरिवंश आचार्यले मुलुकले भोगेको क्षतिप्रति दुःख व्यक्त गर्दै कार्कीको नेतृत्वमा भ्रष्टाचार विरुद्ध उभिने प्रणाली विकास हुने विश्वास व्यक्त गरेका छन् । साथै, उनले सहिदहरूको आत्माको शान्तिको कामना गर्दै सेनादेखि राष्ट्रपति पौडेलसम्मको भूमिकाको प्रशंसा गरेका छन् ।
अभिनेत्री केकी अधिकारीले सतिले सरापेको ग्लानि त्यागेर नयाँ यात्राको सुरुवात भएको उल्लेख गर्दै आमाको आशिषले समुन्नत नेपाल देखिने विश्वास व्यक्त गरिन्।
अभिनेत्री आँचल शर्माले यो क्षणलाई ‘आशा र सम्भावनाको नयाँ ढोका’ भनेकी छन्। उनले जेन–जी आन्दोलनले पुराना दलहरूको मनोमानी तोडेर महिलालाई निर्णायक भूमिकामा पुर्याएको बताइन्।
अभिनेत्री स्वस्तिमा खड्काले परिवर्तनलाई नयाँ युगको सुरुवातको रूपमा व्याख्या गर्दै, “हामीले नेपालको पहिलो महिला प्रधानमन्त्री पाएकोमा गौरव महसुस भएको छ” लेखेकी छन्। उनले योगदान दिने सबैलाई धन्यवादसमेत दिएकी छन्।
त्यस्तै, अभिनेत्री मिरुना मगरले यो क्षणलाई ऐतिहासिक भनेकी छन् भने अन्य दर्जनौँ कलाकार तथा निर्देशक निश्चल बस्नेत, निर्देशक सन्तोष सेन, कलाकारहरु संजोग कोइराला, पुष्प खड्का, सलोन बस्नेत, अभिनेत्री तथा निर्देशक झरना थापा, अभिनेत्रीहरु निरुता सिंह, सुरक्षा पन्त, नम्रता श्रेष्ठ, बेनिशा हमाल, नीता ढुंगाना, नीति शाह, साम्राज्ञी राज्यलक्ष्मी शाह, सुहाना थापा, वितरक करण श्रेष्ठ (क्रेजी) लगायतले सामाजिक सञ्जालमार्फत शुभकामना र खुसी व्यक्त गरेका छन् ।