आन्दोलनले प्रभावित बनायो नेपाली चलचित्र क्षेत्र, रिलिजदेखि सुटिङसम्म ठप्प

काठमाडौं । हाल देशभरका सिनेमा हलहरू सुनसान छन् । भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलन र त्यसपछिको कर्फ्युका कारण नेपालभर प्रदर्शन भइरहेका सिनेमाहरू रोकिएका छन् ।
आन्दोलनले विशेषगरी नयाँ रिलिज र प्रदर्शनरत नेपाली सिनेमाहरूलाई गम्भीर असर पुर्याएको छ । ‘कोशेढुंगा’, ‘गुन्यु चोलो’, ‘मोहर’जस्ता प्रदर्शनमा रहेका चलचित्रहरू प्रभावित भए ।
भदौ २० गतेबाट देशभर प्रदर्शनमा आएको सिनेमा ‘रिमै’ प्रदर्शनको तीन दिनमै रोकिएको छ । प्रदर्शन रोकिँदा सिनेमाको व्यापारमा ठूलो क्षति पुगेको छ ।
यस्तै, शुक्रबारदेखि प्रदर्शनमा आउन तय गरिएको सिनेमा ‘अभिमन्यु’ पनि रिलिज हुन सकेन । निर्माता कम्पनी सेभेन सिज सिनेमाले केही दिनअघि विज्ञप्ति जारी गर्दै तोकिएको मितिमा सिनेमा रिलिज गर्न असम्भव भएको जनाइसकेको छ ।
जेन्जी पुस्ताको प्रदर्शनपछि सिर्जना भएको दुःखद् घटनाका कारण ‘अभिमन्यु’को रिलिज स्थगन गरिएको निर्माणपक्षले जनाएको छ ।
यसैगरी, असोज ३ गते प्रदर्शनमा आउन तय गरिएको निर्देशक उपेन्द्र सुब्बाको सिनेमा ‘जारी २’ पनि हालको अस्थिर परिस्थितिका कारण स्थगित भएको छ ।
सिनेमा प्रदर्शन मात्र होइन, छायांकनमै रहेका चलचित्रहरू पनि रोकिएका छन् । निर्देशक दिनेश राउतको सिनेमा ‘कुमारी’ को सुटिङ काठमाडौं आसपासमा भइरहेको थियो । तर, आन्दोलनका कारण छायांकन स्थगित गरिएको छ।
दीपेन्द्र के. खनालको ‘क्याप्टेन साब’ अन्तिम चरणको सुटिङमा पुगेको थियो तर बाँकी काम प्रभावित भएको छ । मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) निर्देशित ‘गोबर गणेश’को पनि सुटिङ रोकिएको छ ।
निर्देशक चन्द्र पन्तको ‘आ बाट आमा’, लक्ष्मण रिजालको ‘काजी’, अर्जुन घिमिरेको ‘झरी पछिको इन्द्रेणी’, तथा रामकृष्ण ढकालको ‘मालती मंगले’लगायत सिनेमाहरू पनि अहिले ठप्प अवस्थामा पुगेका छन् ।
अब रिलिज रोकिएका चलचित्र कहिले प्रदर्शनमा आउँछन्, निश्चित छैन । तर, अब हुने फ्रेस रिलिज चलचित्रको सम्भावना भने राम्रो देखिएको छ । अहिलेको ट्रमाबाट बाहिर आउन सिनेमा हेर्ने दर्शकका लागि फ्रेस रिलिज राम्रो रोजाइ हुनसक्छ । तर, सिनेमा हेर्ने मुडमा दर्शक पुगिसकेका रहेनछन् भने रिलिजको निर्णय घातक सावित हुनसक्छ ।