विदेशमा छायांकन गरिएको पहिलो चलचित्र कुन हो ?

काठमाडौं । नेपाली चलचित्र उद्योगमा थुप्रै ऐतिहासिक रेकर्ड छन् । यस्ता रेकर्ड विभिन्न चलचित्रका नाममा छन् । यस्तै एउटा रेकर्ड चलचित्र ‘कस्तुरी’को नाममा छ ।
‘कस्तुरी’ विदेशमा छायांकन हुने पहिलो नेपाली चलचित्र हो । त्यसअघि जति पनि नेपाली चलचित्र बनेका थिए, ती सबै नेपालमा छायांकन भएका थिए ।
‘कस्तुरी’का धेरै दृश्यहरू बेलायतको विभिन्न ठाँउमा छायांकन गरिएको थियो । ‘कस्तुरी’ले नेपाली चलचित्रमा अन्तर्राष्ट्रिय स्तरमा छायांकन गर्ने नयाँ अध्याय सुरु गरेको थियो ।
यो चलचित्र विदेशमा छायांकन मात्रै भएको थिएन प्रविधि र दृश्य शैलीमा नयाँ पन थियो । ठूलो क्यानभासमा नेपाली सिनेमा पनि निर्माण गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको थियो ।
मुक्तिनाथ फिल्मस प्रोडक्सनको निर्माण रहेको यो चलचित्रलाई किरण प्रधानले निर्देशन गरेका थिए । किरणले कथा, पटकथा, संवाद पनि लेखेका थिए । गीत लेख्ने र गाउने काम पनि उनैले गरेका थिए ।
यो चलचित्र वि.स. २०४८ साल असोज २० गते प्रथम पटक प्रदर्शनमा आएको थियो ।
यो चलचित्रलाई विनोद मानन्धरले निर्माण गरेका थिए । उनी बेलायतमा बसेर व्यवसाय गर्ने भएकाले उनलाई बेलायतमा चलचित्र छायांकन गर्न सहज भएको थियो । विनोद कलाकार पनि हुन् । उनी वरिष्ठ साहित्यकार ईश्वर मानन्धरका छोरा हुन् ।
‘कस्तुरी’का निर्मातामा विनोदसँगै हिर विभोर कार्की, नृम प्रधान हरि थापा र ध्रव केसी पनि थिए ।
‘कस्तुरी’ निर्माण गर्दा उनको भेट करिश्मा मानन्धरसँग भएको थियो ।
पछि विनोद र करिष्माले विवाह गरे । करिष्माले लामो समय नेपाली चलचित्रमा एक नम्बर नायिका भएर काम गरिन् ।
‘कस्तुरी’मा करिष्मासँगै अजय शेखर, सन्तोष पन्त, मदनदास श्रेष्ठलगायत कलाकारको अभिनय थियो ।
विनोद र करिष्माकी एक सन्तान छिन्, कविता मानन्धर । उनले पनि एउटा चलचित्रमा काम गरेकी छन् । ‘एउटा यस्तो प्रेम कहानी’ चलचित्रबाट कविताले नेपाली चलचित्रमा डेब्यु गरेकी छन् । यही चलचित्रबाट शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले पनि डेब्यु गरेका थिए । तर यो चलचित्र व्यापारिक रूपमा भने सफल हुन सकेन ।
‘कस्तुरी’बाट सुरु भएको नेपाली चलचित्रको विदेशमा छायांकन गर्ने ट्रेन्ड अहिले फेसनजस्तै बनिसकेको छ । वर्षमै धेरै चलचित्र विदेशमा छायांकन हुने गरेका छन् ।
कतिपय चलचित्रको त पूरै छायांकन नै विदेशमै हुन्छ । विदेशमा बसेका नेपालीले उतै बनाएर नेपालमा प्रदर्शन समेत गर्ने गरेको पाइन्छ ।
नेपालमै छायांकन गरिएका कतिपय चलचित्रको पोस्ट प्रोडक्सनको काम विदेशमा गर्ने गरिएको छ । प्राविधिक पाटो बलियो बनाउन विदेशमा पोस्ट प्रोडक्सन गर्ने गरेको पाइन्छ ।
ठूलो क्यानभास र आकर्षक सिनका लागि विदेशका रमणीय स्थानमा छायांकन गर्नु अहिले सामान्य बनिसकेको छ ।