तत्काल सिनेमा हल खोल, दसैँमा चलचित्र रिलिजको वातावरण बनाऊ

काठमाडौं । जेनजीको दुई दिनको प्रदर्शन र आन्दोलनले देश तहसनहस भयो । करिब पाँच दर्जन व्यक्तिले ज्यान गुमाए । अरर्बौंको क्षति भयो । यो क्षति र नेताहरूलाई सिकाएको सबकले अबका शासक सुध्रिएलान् कि भन्ने धेरैको विश्वास छ । अहिले सोचेजस्तै होस्, कामना गरौँ ।
जेनजी आन्दोलनबाट चलचित्र क्षेत्र पनि अछुतो रहेन । चलचित्र संघका अनुसार करिब १७ करोड रुपैयाँको क्षति चलचित्र क्षेत्रले बेहोरेको छ । सिनेमा हलमा भएको आगजनीका कारण यो क्षति भएको हो ।
विशेषतः ठूला सपिङ कम्प्लेक्समा भएको आगजनीका कारण ती सपिङ कम्प्लेक्समा रहेका हल जल्न पुगे, जसका कारण ठूलो परिमाणमा क्षति हलमा भयो ।
अब यी हल सञ्चालनमा आउन समय लाग्नेछ । सिनेमा हल मात्रै जलेनन्, सिनेमाको प्रदर्शन रोकियो । सुटिङ रोकियो । प्रदर्शनको तयारीमा रहेका सिनेमाको प्रदर्शन रोकियो । अब प्रदर्शन हुने सिनेमा के हुन्छन् भन्ने अन्योल छ ।
हलहरूको छाता संस्था चलचित्र संघको शनिबार बसेको बैठकले बन्द सिनेमा घर खोल्ने निर्णय गरेन । आइतबार पुनः बैठक बस्दैछ । सम्भवत आइतबारको बैठकले कहिलेदेखि हल खोल्ने भन्ने निर्णय गर्ला ।
सिनेमा हल सकेसम्म तत्काल खोल्ने निर्णय गर्नुपर्छ । पक्कै पनि अवस्था सहज छैन । तर, बन्द खुलेको र जनजीवन सामान्य हुँदै गएको अवस्थामा यसलाई थप सहज र सामान्य बनाउँदै जानुपर्छ । शान्ति सुरक्षा रहेको अवस्थामा सिनेमा हेर्ने माहोल आफैँले बनाउने हो ।
तत्काल सिनेमा घर नखुल्दा पहिलो, प्रदर्शन हुँदाहुँदै बन्द भएपछि रोकिएका सिनेमालाई असर गर्छ । लामो समय भएपछि ती सिनेमा एक त रिलिज गर्न सेड्युलमा रहेका अरु चलचित्रका कारण समस्या हुन्छ ।
अर्को लामो समय ग्याप भएपछि दर्शकले बिर्सिने सम्भावना उच्च हुन्छ । फेरि पब्लिसिटी सुरु गर्नुपर्ने हुनसक्छ । त्यसैले यी सिनेमाका लागि पनि तत्काल चलचित्र घरहरू सञ्चालनमा आउनुपर्छ ।
दोस्रो, असोज ३ गते र फूलपातीका दिन दिन प्रदर्शन हुने भनेर प्रचार र तयारी गरेका चलचित्रलाई पर्छ । यी चलचित्र रिलिजको माहोल बनाउन पनि अहिले नै बन्द हल खुलाउनुपर्छ ।
शान्ति सुरक्षा नै छैन, सरकारले नै अहिले नखोल भनेको अवस्थामा बाहेक हल खोल्नुपर्छ । ठूलो लगानी गरेर दसैँका लागि भनेर बनाइएका र प्रचार गरिएका चलचित्रलाई त्यही मितिमा रिलिज नहुँदा ठूलो असर गर्छ ।
व्यापारिक रूपमा नै ठूलो नोक्सानी हुन्छ । पहिलो कुरा त, अहिलेसम्म गरेको निर्माताको पब्लिसिटी खर्च डुब्छ । कम्तीमा २५ देखि ५० लाखसम्म पब्लिसिटी खर्च हुन्छ । पूर्व निर्धारित मितिमा नआएर अर्को मितिमा आउँदा यति थप खर्च हुन्छ । त्यसैले पनि हल तत्काल खोल्नुपर्छ ।
दसैँमा प्रदर्शन हुने भनिएका चलचित्र रिलिज हुन पाएनन् भने त्यसपछिको सेड्युल बिग्रिन्छ । एकैपटक धेरै चलचित्र आउँदा त्यसको व्यापारिक असर सबैलाई पर्छ । सेड्युल पनि बिग्रिन्छ ।
व्यापारिक रूपमा पनि यसको क्षति हुन्छ । चलचित्र चल्न राम्रो हुनुपर्छ । तर डेट पनि राम्रो हुनुपर्छ । चलचित्र मात्रै होइन डेट पनि चल्छ । दसैँको लामो बिदामा चलचित्र हेर्न परिवार नै जाने भएकाले यो समयमा चलचित्रको व्यापार अरू समयको भन्दा राम्रो हुन्छ ।
चलचित्रले ब्यापार गर्नु भनेको निर्माताले मात्रै होइन सिनेमा हलको पनि व्यापार हुनु हो । त्यसैले सबैको फाइदाका लागि सिनेमा हल तत्काल खोल्नुपर्छ । तत्काल हल नखोले यसको असर निर्माता र सिनेमा हल दुवैले बेहोर्नुपर्नेछ । समग्र वर्षभरीकै बक्स अफिस कलेक्सन र वर्षभरीकै सिनेमा रिलिजको सेड्युल बिग्रिन नदिन पनि तत्काल हल खोल्नुपर्नेछ ।