पाँच हलमा आगजनी र तोडफोड, १७ करोडको क्षति

काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा रहेका सिनेमा हलहरूमा क्षति भएको छ ।
ठूला सपिङ कम्प्लेक्समा भएको आगजनीका कारण केही सपिङ कम्प्लेक्समा रहेका हल जल्न पुगे, जसका कारण ठूलो परिमाणमा क्षति भएको हो ।
नेपाल चलचित्र संघका अनुसार आन्दोलनको दोस्रो दिन भौतिक संरचनामा तोडफोड र आगजनी हुँदा एउटा हल पूर्ण रूपमा जलेर ध्वस्त भएको छ भने चारवटा अन्य हलमा पनि क्षति पुगेको छ।
विराटनगरस्थित भाटभटेनी सपिङ मलमा भएको आगजनीका कारण देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सको हल पूर्ण रूपमा जलेको छ । यसबाट करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
यसैगरी, बुटवल र भक्तपुरको भाटभटेनीमा रहेका क्यूएफएक्स हलहरूको टिकट काउन्टर पनि पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
नयाँ बसपार्कस्थित ल्होत्से मलको बाहिर रहेको आइएनआई सिनेमाजको टिकट काउन्टरमा समेत आगजनी र तोडफोड भएको छ, जसले गर्दा हलको उपकरणमा समेत असर परेको बताइएको छ। काठमाडौंको बालाजुमा रहेको अष्टनारायण हलमा पनि प्रदर्शनकारीले तोडफोड गरेका थिए ।
कुल पाँचवटा हलमा गरी करिब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान संघले गरेको छ । विराटनगरको हलबाहेक अन्य क्षतिग्रस्त हलहरू सञ्चालन गर्न सकिने अवस्थामा रहेकाले नेपाल चलचित्र संघले आइतबारको बैठकमा हलहरू कहिलेबाट खोल्ने भन्नेबारे निर्णय गर्दैछ ।
जनजी आन्दोलन र त्यसपछिको असहज परिस्थितिका कारण देशभरका हलहरू विगत ६ दिनदेखि बन्द रहेकाले प्रदर्शनरत र नयाँ रिलिज हुने चलचित्रहरूको तालिका पनि प्रभावित भएको छ ।