‘जारी २’को प्रदर्शन मिति सर्यो, कात्तिक १४ मा रिलिज हुने

काठमाडौं । कवि तथा निर्देशक उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘जारी २’ कात्तिक १४ गते रिलिज हुने भएको छ । जेनजीको आन्दोलनका कारण यो सिनेमा सरेको हो ।

यसअघि ‘जारी २’ असोज ३ गते रिलिज हुने तय थियो । तर, हल जेन्जीको आन्दोलनका कारण बन्द भएपछि ‘जारी २’ सरेर कात्तिक १४ मा पुगेको स्रोतले जानकारी दिएको हो ।

चलचित्र ‘जारी २’ मा प्रमुख भूमिकामा रहेका दयाहाङ राई र मिरुना मगर छन् ।

‘जारी’ ले नेपाली बक्स अफिसमा १७ करोडभन्दा बढीको व्यापार गरेको थियो । त्यसकै सफलताको निरन्तरता स्वरूप निर्माण भएको ‘जारी २’को कथा पनि उपेन्द्र सुब्बाकै लेखन रहेको छ ।

‘जारी २’ कवि सुब्बा र निर्देशक–निर्माता रामबाबु गुरुङको पुनः सहकार्यमा निर्माण भएको चलचित्र हो । ‘जारी’को सफलतापछि उनीहरू पुनः दोस्रो भाग लिएर आएका हुन् ।

यो चलचित्रको स्लोगन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको छ । च्याब्रुङ नेपालको पूर्वी पहाडमा बसोबास गर्ने लिम्बू समुदायका मानिसहरूको परम्परागत लोक बाजा हो ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्मस्को व्यानरमा बनेको चलचित्रमा दयाहाङ र मिरुनासँगै विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।